

एमाले मिल्नेतिर गएपछि माओवादी केन्द्रको आकस्मिक बैठकमा भए यस्ता चर्चा

काठमाडौं– ९ असारबाट सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिसम्बन्धी मुद्दामा निरन्तर सुनुवाई थाल्नुअघि एमाले मिल्ने लयमा देखिएको छ।
एमालेका माधवकुमार नेपाल पक्षका सांसदको हस्ताक्षरका आधारमा नै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दाबीसहित रिट निवेदन सर्वोच्चमा हालिएको थियो। संवैधानिक इजलासले उक्त विषयमा सुनुवाई अघि बढाउने भएको छ।
यसबीचमा एमालेमा सहमति भई नेपाल पक्ष प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग मिलेको खण्डमा सांसदको हस्ताक्षर फिर्ता हुनेछ। जनता समाजवादी पार्टी (जसपा) पनि विभाजनको लयमा रहेका कारण विपक्षी गठबन्धन भनिएको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेपाल पक्ष र उपेन्द्र यादव पक्षको सहकार्य के होला?
यसै विषयमा सोमबार बिहान माओवादी केन्द्रको केन्द्रीय कमिटीको आकस्मिक बैठकमा चर्चा भएको छ। भर्चुअल माध्यबाट भएको उक्त बैठकमा एमाले मिलेको खण्डमा सरकार पनि उसैले निरन्तर चलाउने विश्लेषण गरिएको छ।
पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा भएको बैठकमा सहभागी एक नेता भन्छन्,‘प्रतिनिधि सभा विघटनको निर्णय गरेका ओलीसँग विद्रोह गरेका नेपाल मिले भने के होला? मिल्न दिनु हुँदैन र संविधान जोगाउनुपर्छ भन्ने विषयमा कुराकानी भयो।’
यति मात्र होइन, खासगरी माओवादी केन्द्रले कारबाही गरेका रामबहादुर थापा बादलसहितका अन्य नेताका सन्दर्भमा पनि चर्चा भएको थियो। ‘एमाले मिल्दा माओवादी चोइटियो भन्ने सन्देश स्पष्ट छ। एमालेले ति नेतालाई समेट्नेगरी केही निर्णय गर्न सक्छ त्यसबेला माओवादी कमजोर भएको स्पष्ट सन्देश जान्छ भन्ने विषय उठ्यो’, एक नेताले भने।
बैठकमा निर्वाचन आयोगलाई कारबाहीको जानकारी गराउँदा पनि किन प्रक्रिया अघि बढेन भन्ने विषय चर्चामा आएको थियो। बादलसहितका नेतालाई माओवादीले कारबाही गरिसकेको छ।

