युराेकप २०२०ः इटाली र वेल्स नकआउट चरणमा, स्वीजरल्याण्डको आशा कायमै


काठमाडौं – इटाली र वेल्स युरोकपको नकआउटमा प्रवेश गरेका छन् । समूह विजेता बन्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको हो भने वेल्स समूह उपविजेताको रुपमा दोस्रो चरण प्रवेश गरेको हो ।

रोममा आइतबार राति समूह चरणको अन्तिम खेलमा वेल्सलाई १–० ले पराजित गर्दै इटाली समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।

वेल्सविरुद्ध इटालीका माटियो पेसीनाले ३९औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

खेलको ५६औँ मिनेटमा इथान एम्पडुले रातो कार्ड पाएपछि वेल्स १० खेलाडीमा समेटिएको थियो । त्यसपछि पनि उसले इटालीलाई गोल गर्न दिएन । जितसँगै समूह ‘ए’ को इटालीले समूह चरणमा शतप्रतिशत जित निकालेको छ । इटालीले ३ खेलमा ९ अंक जोड्यो ।

इटालीसँग पराजित भएपनि वेल्स उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ । समूह चरणमा पहिलो हार व्यहोरेको वेल्सले ३ खेलमा ४ अंक जोड्यो । र, समूहको दोस्रो स्थानमा रह्यो ।

त्यस्तै उक्त समूहको अर्को खेलमा स्वीजरल्यान्ड र टर्कीबीचको खेलमा स्वीजरल्यान्डले ३–१ हो जित हात पार्दै अर्को चरणको सम्भावनालाई कायमै राखेको छ । तर, अर्को चरण प्रवेशका लागि छ समूहका तेस्रो स्थानका उत्कृष्ट चार टिममा पर्नुपर्ने हुन्छ । टर्की भने प्रतियोगिताबाट बाहिरिएको छ ।

 

प्रतिक्रिया