सातै प्रदेशमा सुविधासम्पन्न अस्पताल बनाउन बिजुक्छेको माग


भक्तपुर – भक्तपुर नगरपालिकाले जनताबाट स्वतस्फूर्त सङ्कलित रकमबाट ख्वपः अस्पतालमा सञ्चालनमा स्थापना गरेको अक्सिजन प्लान्टको आज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले उद्घाटन गरेका हुन्।

नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालमा अक्सिजन प्लान्टको उद्घाटन गर्दै उनले कोभिड महामारीविरुद्धको लडाईमा संसारका धनी र विकसित देशलाई समेत कठिन भएको बताउदै सातवटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउन सरकारसँग माग गरे ।

नेपाल भारतबीचको सीमा नाका समयमै आवश्यक निगरानी, चेकजाँच र कडाइ गर्न नसक्दा नेपालमा कोभिड–१९ को सङक्रमण महामारीको रुपमा फैलिएको भन्दै उनले जनताको जीवन रक्षामा सरकार चुकेको आरोप लगाए । अध्यक्ष बिजुक्छेले जनतालाई सामुदायिक र निजी अस्पतालबीचको भिन्नता र महत्वबारे सचेत पार्नुपर्ने र समाजमा आमूल परिवर्तनको निमित्त जनतालाई नै राजनैतिक रुपले सचेत पार्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कोरोनाको पहिलो र दोस्रो लहर नेपालमा फैलिएसँगै जनताको जीवन रक्षालाई प्राथमिकतामा राख्दै २०७८ बैशाख १७ गतेदेखि नै ख्वपः अस्पतालमा कोभिड युनिट सञ्चालन गरेको बताए । सो अस्पतालमा रु १ करोड २३ लाख ३६ हजार खर्च गरेर अक्सिजन प्लान्ट स्थापना गरिएको हो ।

प्रतिक्रिया