यूरो २०२० : पहिलो खेलमै रोनाल्डोको दुई गोल


काठमाडौं – खेलको अन्तिम समयमा लगातार तीन गोल गरेपछि पोर्चुगलले युरोपेली च्याम्पियनसिपमा विजयी सुरुवात गरेको छ। समूह एफको पहिलो खेलमा पोर्चुगल घरेलु टोली हंगेरीलाई हराउँदै ३-० हराउँदै विजयी भएको हो।

खेलको ८४ औं मिनेटमा पोर्चुगलले अग्रता लिएको हो। राफाएल गुरेरोले पेनाल्टी क्षेत्र भित्रबाट गरेको प्रहार डिफेन्डरको खुट्टामा लाग्दै गोलमा परिणत भएको थियो। त्यसअघि राफा सिल्भाको क्रस डिफेन्डरलाई लाग्दै गुरेरोको स्थानसम्म आइपुगेको थियो।

अग्रता लिएको दुई मिनेटपछि नै पोर्चुगलले पेनाल्टीको अवसर पायो। विलि ओर्बानले राफा सिल्भालाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि रेफ्रीले पेनाल्टी दिएका थिए। कप्तान क्रिस्टियानो रोनाल्डोले उक्त पेनाल्टीलाई गोलमा परिणत गर्दै २-० को अग्रता दिलाए।

रोनाल्डोले गोलरक्षकलाई विपरित दिशामा डाइभ गराउँदै प्रतियोगितामा व्यक्तिगत पहिलो गोल गरे। त्यस्तै इन्ज्युरी समयको दोस्रो मिनेटमा रोनाल्डोले अर्को गोल गर्दै ३-० को अग्रता दिलाए।

राफा सिल्भाकै पासमा पेनाल्टी क्षेत्रभित्र संयमित रोनाल्डोले अफसाइड ट्रयाप बिट गर्दै फिनिस गरेका थिए। युरोको ५ संस्करणमा खेल्ने पहिलो खेलाडी बनेका रोनाल्डोले खेलको पहिलो हाफमा अवसर सदुपयोग नगरेपनि अन्त्यमा भने नतिजालाई न्याय दिए।

खेलको ४३ औं मिनेटमा रोनाल्डोले पोर्चुगललाई अग्रता दिलाउने सुवर्ण अवसर खेर फालेका थिए। ब्रुनो फर्नान्डेसको पासमा रोनाल्डोले पेनाल्टी क्षेत्र भित्रबाट सहज अवसरलाई पोस्टभन्दा माथिबाट प्रहार गरेका थिए।

त्यसअघि ३० औं मिनेटमा रोनाल्डोकै हेडरले पोस्टको दिशा लिन नसक्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो। पहिलो हाफमा निरन्तर आक्रमण बुनेपनि पोर्चुगलले गोल गर्न सकेको थिएन।

दोस्रो हाफमा हंगेरीले आफ्नो रक्षात्मक रणनीति कायम राख्दै काउन्टर अट्याकमा पनि अघि बढेको थियो। ८० औं मिनेटमा जाबोलाक्स सोनले गोल गरेपनि असिस्टेन्ट रेफ्रीले उक्त मुभलाई अफसाइड दिएपछि पोर्चुगल जोगिएको थियो।

यस जितसँगै समूह एफमा पोर्चुगलले महत्त्वपूर्ण ३ अंक जोडेको छ। ग्रुप अफ डेथ मानिएको यस समूहको अर्को खेलमा आज नै जर्मनी र फ्रान्स भिड्दैछन्।

प्रतिक्रिया