सुदूरपश्चिममा सरकारको नीति कार्यक्रममाथि छलफल, सत्तापक्षीय सकारात्मक


सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति कार्यक्रममाथि छलफल शुरु भएको छ ।

छलफलमा भाग लिने सत्तापक्षीय सदस्यले नीति कार्यक्रमका बुँदाहरुमा धेरै राम्रा कुरा समेटिएको र समयसापेक्ष भएको भन्दै नीतिअनुसारको बजेट विनियोजन गर्नुपर्ने बताए ।

उनहरुले सरकारले नीति कार्यक्रममा विगतमा सञ्चालन भएका योजनाको उपलब्धि देखाएको भए पनि योजनास्थलमा यस्ता धेरै योजनामा उपलब्धि नदेखिएको भन्दै योजनाको प्रभावकारी कार्यान्वयन गर्न ध्यान जानुपर्ने बताए । छलफलमा भाग लिने सत्तापक्षीय सदस्यमा रतनबहादुर थापा, कुन्ती जोशी, लीलाधर भट्ट, महेशदत्त जोशी, माया तामाङ बोहरा, बलबहादुर सोडारी र कुलवीर चौधरी रहेका थिए ।

विपक्षी प्रदेशसभा सदस्यहरु गोविन्दराज बोहरा, भरतबहादुर खड्का र दिव्यश्वरी शाहले कोरोना महामारी र राजनीतिक अन्योलताले देश गम्भीर सङ्कटमा परेको बेला ल्याइएको नीति कार्यक्रममा समेट्नु पर्ने विषय र मुद्दाहरु नसमेटिएको तर्फ सुझाव दिए । उनीहरुले उपलब्ध साधन स्रोतको अधिकतम उपयोग गरी कार्यक्रम तथा योजनाको कार्यान्वयन गरेर परिणाम देखाउन सक्नु महत्वपूर्ण पक्ष हुने बताए ।

यसअघि मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारको नीति तथा कार्यक्रममाथि सभामा छलफल गरियोस् भनी पेश गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मतीले स्वीकृत गरेको थियो । नीति तथा कार्यक्रममाथि शनिबारसमेत छलफल हुने कार्यसूची छ । प्रदेश प्रमुख गङ्गाप्रसाद यादवले बिहीबारको प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया