

गण्डकीका मन्त्री दीपक मनाङे नै विपक्षी गठबन्धनमा, यस्तो हुनेछ सांसदको जोडघटाऊ
सत्ता जोगाउन दुई पटक शपथ गराए पनि मुख्यमन्त्री गुरुङको पद धरापमा

काठमाडौं– गण्डकी प्रदेशका खेलकुद मन्त्री राजीव गुरुङ उर्फ दीपक मनाङे कांग्रेस, माओवादी र जनमोर्चाको गठबन्धनमा जोडिएपछि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङको पद धरापमा परेको छ।
विहीबार दोस्रो पटक मुख्यमन्त्रीमा नियुक्त भएका गुरुङले प्रदेश सभामा विश्वासको मत लिन लागेका छन्। एक जना मात्र सांसदका कारण पद नै खुस्किन सक्ने अवस्थामा रहेका मुख्यमन्त्री गुरुङलाई मनाङेले युटर्न गर्दा थप समस्या पर्ने देखिएको हो।
मनाङे मन्त्रिपरिषदको बैठकमा बुधबार पुगेनन् भने उनले प्रदेश सभा जोगाउनका लागि विपक्षी गठजोडमा जोडिनु परेको प्रारम्भिक प्रतिक्रिया दिएका छन्। यद्यपि, उनको भूमिकामा विश्वास गर्न नसकिने भएकाले दिउँसोसम्म प्रदेश सभामा फरक राजनीतिक दृश्य देख्न सकिने अनुमान पनि गरिन्छ।
यस्तो छ प्रदेश सभाको जोडघटाऊ
सत्तारुढ दल एमालेसँग २७ सांसद छन् । कांग्रेस १५, माओवादी ११ (सभामुखबाहेक), जनता समाजवादीका २ र राष्ट्रिय जनमोर्चाका २ गरी ३० सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन तम्तयार छन् । जनमोर्चाले पदमुक्त गरेर फेरि सर्वोच्चबाट थमौति पाएका कृष्ण थापा अनिर्णित छन्। उनी कम्युनिस्टइतर कित्तामा नजाने अडानमा छन्।
६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत चाहिन्छ । मनाङले विपक्षीलाई साथ दिए संविधानको धारा १६८ (५) अनुसार कांग्रेस संंसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलको नेतृत्वमा सरकार बन्न सक्छ। तैपनि उनी तटस्थ बस्न सक्ने संकेत पनि गरेका छन्।
विपक्षी गठबन्धनले आकर्षक मन्त्रीको अफर गरे मनाङे त्यतातिर जान सक्ने अनुमान गरिएको छ। खासगरी उनले आन्तरिक मामला मन्त्रालयमा दाबी गरेका छन्। गुरुङको सत्ता गिराउनका लागि विपक्षीले उक्त कदम चाल्न सक्ने पनि बताइन्छ।

