

नेपाल–खनाल पक्ष बैठकमा मत बाझियो: एकथरीले दिए विभाजनको राय, अर्कातिरको संघर्षमा जोड

काठमाडौं– नेकपा एमालेबाट कारबाही गरिएका नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको केन्द्रीय समितिको बैठकमा पार्टी बिभाजन गर्ने र संघर्ष जारी राख्ने दुई थरी मत बाझिएका छन्।
नेपालले अब ढिलो नगरी नयाँ पार्टी दर्ता गरेर अघि बढ्नुपर्ने भन्दै अहिले दोस्रो पुस्ताले गरेको भनेको वार्तालाई अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको ललिपपमात्र भएको बताएका थिए।
भर्चुअल बैठकमा सहभागी एक नेताका अनुसार नेपालले नयाँ पार्टी दर्ता गरी तल्लो तहसम्म नै प्रशिक्षणमा जानुपर्ने प्रस्ताव गरेका थिए। जहाँ बरिष्ठ नेता खनालले अहिले नयाँ पार्टी भन्दा पनि आन्तरिक संघर्ष अनिवार्य बनाउनुपर्नेमा जोड दिए।
ओली पक्षका नेताहरूसँग भइरहेको वार्तामा सहभागी रहेका नेता सुरेन्द्र पाण्डे र घनश्याम भुसालले छलफलमा उपलब्धि नभएको भन्दै शंकास्पद नै रहेको ब्रिफिङ गरेका थिए। तैपनि अन्तिमसम्म वार्तालाई जारी राखेर पार्टी एकीकरणको प्रयत्नलाई कायम राख्नुपर्ने नेता पाण्डे र भुसालको भनाई थियो।
तर कतिपय केन्द्रीय सदस्यले भने अहिले ओलीसँग सम्झौता गर्नु भनेको भुलभुलैयामा पर्नु त होइन? भनी शंकास्पद प्रश्न गरेका थिए। सो विषयमा पाण्डेले भने,‘हेरौं, अझै विचार गरेर अगाडि बढ्नुपर्छ।’

