

सेनाद्वारा दाङको छिल्लीकोटमा सम्पन्न संरचना हस्तान्तरण

काठमाडौं – तुलसीपुर उपमहानगरपालीका– १९ छिल्लिकोट स्थित कालिका मालिका मन्दिर परिसरमा नेपाली सेनाले भौतिक संरचना निर्माण सम्पन्न गरेको छ।
प्राचिन इतिहास र धार्मिक महत्व बोकेको मन्दिर परिसरमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुमधुर एवंम् प्रगाढ बनाउने नीति अनुरुप नेपाली सेनाको एकीकरण मार्ग कार्यक्रम अन्तर्गत निर्माण गरिएको भौतिक संरचना निर्माण सम्पन्न भएसँगै बिहीवार एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ।
बिनियोजित भएको रकम १० लाख रुपैयाँ तथा श्री रणसिंहदल गणको श्रमदानबाट निर्मित भौतिक संरचना सेड घर (३ वटा फलामे बेन्च) तथा २ सिटे शौचालयहरुको श्री १९ नम्बर बाहिनी अड्डाका बाहिनिपती सहायकरथी मदनकुमार केसीले कालिका मन्दिर समितिका अध्यक्ष पुर्ण पुनलाई हस्तान्तरण गरेका हुन्।
उक्त कार्यक्रममा तुलसीपुर–१९ का वडा अध्यक्ष रामबहादुर योगी, रणसिंहदल गणका गणपति प्रमुख सेनानी उज्वल केसी, कालिका मालिका मन्दिर समितिका अध्यक्ष पुन र कोषाध्यक्ष प्रविण पुनलगायत स्थानीय व्यक्तिहरुको उपस्थिति रहेको थियो।
यस्ता जनउपयोगि सार्वजनिक महत्वका कार्यक्रमहरुले स्थानीय तहमा नेपाली सेनाको नागरिक सैनिक सम्बन्ध सुधार एवंम् प्रगाढ हुने र भबिष्यमा यस्ता कार्यक्रमहरुले निरन्तरता पाउँदै जाने गणपति प्रमुख सेनानी केसीले बताए।

