प्रचण्डका नाममा बुहारी बिना मगरको हस्तक्षेप, सुदूरपश्चिम सह–इञ्चार्जले गरे खेद प्रकट


काठमाडौं– सुदूरपश्चिम प्रदेश सरकारमा माओवादीका तर्फबाट मन्त्री बनाउने काममा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको ठाडो हस्तक्षेप भएपछि किचलो सुरु भएको छ।

प्रचण्डको तर्फबाट उनकी बुहारी तथा पूर्वखानेपानी मन्त्री बिना मगरका कारण माओवादी पार्टीभित्र नै विवाद सुरु भएको छ।

प्रदेश संसदीय दल र कमिटीलाई बाईपास गरी केन्द्रको निर्णय भन्दै मन्त्री नियुक्तिको विषयमा सह–इञ्चार्ज खगराज भट्टले खेद प्रकट गरेपछि यो विवाद सतहमा आएको छ।

खासगरी केन्द्रका नाममा बिना मगरले आफ्ना जिल्लाका सांसदलाई मन्त्री नियुक्ति गर्न प्रचण्डका नाममा दबाब दिएको बताइन्छ। उद्योग वन तथा वातावरण मन्त्रीमा दार्चुलाबाट निर्वाचित सांसद मानबहादुर धामी, र भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्रीमा कञ्चनपुरका मानबहादुर सुनार नियुक्त भए।

मानबहादुर सुनार बिना मगरका जिल्लाका सांसद हुन्। जसलाई प्रदेश संसदीय दल र कमिटीले सिफारिस गरेकै होइन। ‘केन्द्रका नाममा मनपरी हिसाबले मन्त्री नियुक्तिमा दबाब दिनु उचित होइन’, एक माओवादी नेता भन्छन्,‘अध्यक्षको नाममा परिवारवादी प्रयोग गरियो। प्रदेशको जोड घटाऊ र समीकरण यहाँ कमिटीले सिफारिस गरी पठाउने हो। हस्तक्षेप सहने होइन।’

संविधानसभा सदस्य समेत रहेका प्रदेश सदस्य वीरभान चौधरीलाई मुख्यमन्त्री त्रिलोचन भट्टले यस पटक पनि मन्त्रीमा नियुक्त गरेनन्। चौधरीको शुरूमा मुख्यमन्त्रीको चर्चा थियो। मुख्यमन्त्री भट्टले उनलाई यस पटक पनि मन्त्रीमा नियुक्त नगर्न बिना मगरकै हस्तक्षेपले काम गरेको बताइन्छ।

प्रतिक्रिया