एउटा नैतिकवान राजनीतिका प्रस्थानबिन्दुको अल्पविराम!


काठमाडौँ – साझा विवेकशील पार्टीका नेता उज्ज्वल थापाको आज निधन भएको छ।

४४ वर्षको उमेरमा थापाको ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा मंगलबार अपराह्न ४ बजेर २५ मिनेटमा निधन भएको हो। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले थापाको निधन भएको पुष्टि गरेका छन्। पाण्डेले फेसबुकमा लेखेका छन्, ‘उज्वल थापा हामीबिच रहनुभएन।’

सामान्य परिवारमा जन्मिएर संयुक्त राज्य अमेरिकामा पढेर नेपाल फर्किएका नेता थापा राजनीतिमा नैतिकवान व्यक्तिको रुपमा चिनिन्छन्। आज उनै नैतिकवान राजनीतिका प्रस्थानविन्दुको अल्पविराम लागेको छ। हामीले एक सच्चा राजनीतिज्ञ गुमाएका छौं।

थापाको निधनपछि विवेकशील साझा पार्टीले आफ्ना संस्थापक संयोजकको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ। मंगलबार अपराह्न बसेको पार्टीको आकस्मिक बैठकले थापाको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको हो।

विवेकशील साझाले थापाको स्मृति तथा सम्मानका लागि १३ औं दिनको पुण्य तिथिमा कम्तीमा एउटा वृक्षारोपण गर्न पार्टीका सम्पूर्ण नेतृत्व पंक्ति र सदस्यहरूलाई आह्वान समेत गरेको छ। साथै, यही बिचमा पार्टीमा ‘उज्वल थापाको जीवन र विचार’ विषयमा छलफल र बहस चलाउने निर्णय समेत गरिएको छ।

000000

कुनै समय थियो, जसलाई जतिखेर मन लाग्यो त्यतिखेर सडक बन्द आह्वान हुन्थ्यो। सडकमा टायरहरु बाल्थे। बजार बन्द हुन्थ्यो। सवारी साधन चल्न पाउँदैनथ्यो। राजनीतिक होस् वा अरु कुनै आन्दोलनको समय यस्तै हुन्थ्यो।

त्यस्तो अवस्थामा प्लेकार्ड बोकेर लामबद्ध भइ सवारीसहितका जनजीवनका गतिविधिमा कुनै असर नपर्ने गरी विरोधको नयाँ शैलीको प्रयोगमा ल्याएका थापाकै नेतृत्वमै विवेकशील समूहले बन्द हड्ताल तथा हत्या हिंसासहितका गतिविधिको विरोधका लागि वैकल्पिक उपायहरु अपनाइयो।

थापाले ‘नेपाल बन्द होइन खुल्ला छ, सधैं खुला रहनेछ’ भन्ने अभियान गर्दै देशभरका युवाहरुलाई जोड्न थाले। छातीमा ‘मुस्कान’सहितको स्टिकर टाँसेर सडकमा निस्किने उज्ज्वलहरूले युवाको सोच र विद्रोहको तरिकै परिवर्तन गरिदियो।

विवेकशील नेपाल समूह वा एनजिओका रुपमा सुरु गरी त्यसमार्फत नेपालमा वैकल्पिक राजनीतिक संस्कृतिको सुरुवात गरेका थापा नेपालमा राजनीतिक चेतनाको जग बलियो बनाउने सचेत राजनीतिक चेतनायुक्त नेताका रुपमा चिनिन्छन्। २०७० सालमा विवेकशील नेपाली दल बन्यो। र, त्यसका संस्थापक अध्यक्ष हुन् थापा।

युवापुस्तालाई राजनीतिसँग गाँसिन उनले महत्वपूर्ण योगदान दिएका थिए। मुलुकको परिवर्तनका लागि युवा पुस्ता राजनीतिमा होमिनुपर्ने अवधारणासहित उनको ‘स्माइली इमोजी’ सहितको समूह सक्रिय रहेको थियो।

पहिलो संविधानसभामा स्वतन्त्र रुपमा चुनाव लडेका विवेकशीलका केही सदस्यहरु दोस्रो संविधानसभामा भने राजनीतिक पार्टीका रुपमा विवेकशील नेपाली दल मार्फत चुनावमा भाग लिएका थिए। जतिबेला थापाले कुकुर चुनाव चिन्ह लिएर चुनावमा उठेका थिए।

नयाँ संविधान आएपछिको पहिलो आम चुनावमा साझा पार्टी र विवेकशील नेपाली दल मिलेर बनेको साझा विवेकशीलमार्फत भाग लिए। थापा र रवीन्द्र मिश्र एकीकृत पार्टीको सहअध्यक्ष बने। तर सो एकता केही तोडियो र फेरि एकता हुँदा थापाले नेतृत्व लिएनन्।

पद लोलुपता तथा सधैं कुर्सीमा टाँसिन चाहने नेपालका ठूला राजनीतिक दलहरुले अपनाउन नसकेको व्यवहार उनले देखाउँदै आफू पार्टी अध्यक्षबाट हटेर आफूभन्दा कम उमेरका युवा पुस्तामा नेतृत्व हस्तान्तरण गरेका थिए।

जसको नेतृत्व अहिले मिलन पाण्डेले सम्हालिरहेका छन्।

000000

राप्रपाका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले एउटा होनाहार र ठूलो सम्भावना भएको व्यक्तिको निधन राष्ट्रको लागि ठूलो क्षति भएको बताएका छन्। ‘उज्ज्वल थापाको निधनको खबर पढ्दा मर्माहत भएको छु। एउटा होनहार र ठुलो सम्भावना भएको व्यक्तिको निधन राष्ट्रको ठुलो क्षति हो। यो दुःखद घडीमा परिवारप्रति समवेदना व्यक्त गर्दछु र आत्माको शान्तिको कामना गर्दछु,’ उनले भने।

२०७२ सालको भूकम्प होस् या तराईको बाढी, उनको नेतृत्वमा विवेकशीलहरु सधैं सहयोगका लागि उत्रिहाल्थे। मेडिकल शिक्षामा भएको व्यापारीकरण र त्यसका विरुद्ध प्राध्यापक डाक्टर गोविन्द केसीले छेडेको अभियानमा सुरु देखि नै थापा जोडिएका थिए।

अस्पतालमा भर्ना भएका थापाको अवस्था जटिल बन्दै गएपछि उनीप्रतिको विश्वास र प्रेम नेपाली समाजमा अभुतपूर्व रुपमा देखिएको थियो। कुनै पनि राजनीतिक दलका नेताको उपचारका लागि नभएको रकम संकलन जनस्तरबाट उठेको थियो।

थापाको उपचारका लागि रकम चाहिएको भन्दै सोसल मिडियाबाट उठाउन आह्वान भएको केही घन्टामै आवश्यकभन्दा दोब्बर रकम उठेको थियो। उनीप्रति सहानुभूति र सहयोग गर्नेहरु अत्याधिक देखिए। उपचारका लागि विदेशी अस्पताल धाउने राजनीतिक नेतृत्वसामु उनको उपचारमा जनस्तरको लगानी अकल्पनीय देखियो।

कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। यसअघि ग्रान्डी अस्पतालमा उपचाररत उनलाई एक्मो विधिबाट उपचार गर्न मेडिसिटी भर्ना गरिएको थियो।

प्रतिक्रिया