

कांग्रेसको भर्चुअल बैठकमा नेता पौडेललाई देउवाको जवाफ- ‘सबैलाई भन्नुस् न मलाई के भन्नुहुन्छ ?’

काठमाडौं – कोरोना महामारी र मध्यावधि निर्वाचनका कारण भदौका लागि तय भएको नेपाली कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् ।
पार्टीको वैधानिकता जोगाउन भदौसम्म जसरी पनि महाधिवेशन गर्नुपर्ने भन्दै वरिष्ठ नेता पौडेलले अहिले टुंगो लागेका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्ने वा १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाट एक वर्षका लागि केन्द्रीय सदस्य निर्वाचित गर्ने प्रस्ताव अघि सारेका हुन् ।
नेपाल प्रेस युनियनको ३० औं वार्षिक उत्सवको अवसरमा बिहीबार आयोजित भर्चुअल कार्यक्रममा नेता पौडेलले भने, ‘क्रियाशील सदस्यता सबैतिरबाट कम्प्लिट गरेर १४ औं महाधिवेशन गर्न सम्भव छैन । जति उपलब्ध छन्, तिनीहरुबाटै वडा गाउँपालिका, क्षेत्रबाट प्रतिनिधि छनोट गरौं ।’
कांग्रेसले झण्डै ८ लाख क्रियाशील सदस्यको विवरण आफ्नो डेटा सिष्टममा इन्ट्री गरिसकेको छ । तर कतिपय जिल्लामा समायोजन विवादका कारण क्रियाशील सदस्यता टुंगो लागेको छैन । सबै क्रियाशील सदस्यको विवरण डेटा सिस्टममा आएपछि उजुरी आह्वान गरेर छानविन गर्नुपर्छ । यो सबै प्रक्रिया पूरा गरेर भदौ ७-१० मा महाधिवेशन गर्न निकै चुनौतीपूर्ण बनेको छ ।
देउवाको जवाफ : अरुलाई भन्नुस्
कार्यक्रममा पौडेलपछि बोलेका सभापति शेरबहादुर देउवाले भने यस विषयमा छलफल गर्न सकिने बताए । ‘सबैलाई भन्नुस् न मलाई के भन्नुहुन्छ ?’ उनले भने, ‘सबैसँग सल्लाह गर्नुस् मलाई केही छैन ।’
उनले पुरानै क्रियाशील सदस्यबाट महाधिवेशन गर्दा नयाँ क्रियाशील सदस्यबाट विरोध हुन सक्ने बताए । ‘हामीलाई वास्ता गरेनन् भनेर भन्न सक्छन्’ सभापति देउवाले भनेका छन् ।

