

राज्यले पटक-पटक पत्याएको एउटा ‘सिपाही’– बालानन्द शर्मा

बालानन्द शर्मा, नेपालको इतिहासमा १७ औं हजार मानिसको ज्यान लिने गरी चलेको हिंसात्मक आन्दोलनको सफल अवतरणमा संयोजनकारी भूमिका खेलेका व्यक्ति । ३९ वर्षसम्म नेपाली सेनामा काम गरी रथी अर्थात् जर्नेलबाट अवकाश लिएका सिपाही । प्रस्तावित राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी) का संयोजक । पछिल्लो समय शैक्षिक क्षेत्रको ‘हटकेक’ मानिएको नेपालकै पहिलो कलेज क्राइसिस म्यानेजमेन्ट कलेजका प्रिन्सिपल ।
यी सबै विशेषताबाट चिनिने एउटै व्यक्ति शर्मालाई पछिल्लो समय सरकारले अर्को जिम्मेवारीपूर्ण काम दिएको छ– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को प्रमुख कार्यकारी अधिकृत अर्थात् सिइओ ।
नेपाली सेनामा करिब चार दशक सेवा गरेर नेतृत्व तहमा पुगेका शर्मा नेपालका तर्फबाट संयुक्त राष्ट्र संघको शान्ति मिसनमा फोर्स कमाण्डरका रुपमा काम गरेको अनुभवलाई तत्कालिन सरकारले १० वर्षसम्म चलेको सशस्त्र हिंसात्मक युद्धको ‘बिट’ मार्ने जिम्मा दियो– माओवादी सेनाका लडाकूको रेखदेख, समायोजन र पुनःस्थापना सम्बन्धी विशेष समिति सचिवालय संयोजकको भूमिका दिएर ।
नेपाली सेनामा लामोसमय काम गरेर सेनाको मूल्य, मान्यता र नीति नियमसँगै बन्दुकमा समेत दक्ष रहेका शर्मालाई तत्कालिन सरकारले बन्दुककै सहायतामा शान्ति र अमनचयन ल्याउन खोजीरहेको विद्रोही लडाकूहरुको व्यवस्थापनको जिम्मा दिएको थियो । करिब ६ वर्षसम्म रहेको समायोजन प्रक्रियाले अन्ततः शर्माकै संयोजकत्वमा पूर्णता पाउन सफल भयो । १३ सय बढी लडाकूहरुले नेपाली सेनामा भर्ना पाए, अधिकांश स्वेच्छिक अवकाशमा गए । शर्माले लामो विद्रोहपछि वार्तामा आएको माओवादी लडाकूहरुको व्यवस्थापनको जस पाउने गरेका छन् ।
नेपालभर रहेका लडाकुहरुलाई ७ मुख्य शिविर र २१ सहायक शिविरहरुका क्यान्टोनमेन्टभित्रै राखेर हतियारसहित व्यवस्थापन गर्न सफल शर्मालाई अहिले ६ हजार ५ सय भन्दा बढीको ज्यान लिइसकेको कोरोना महामारीको व्यवस्थापनका लागि सिइओको भूमिका सुम्पिएको छ ।
यसअघि आफ्ना हरेक जिम्मेवारीमा सफल सावित रहेका शर्मालाई सरकारले पछिल्लो जिम्मेवारी दिएको हो । करिब चार दशकसम्म नेपाली सेनामा रहेर देशको सेवा गरेका शर्मालाई सरकारले अहिलेसम्म पनि विश्राम नदिनु वा जिम्मेवारी दिनु उनीप्रति सरकारको विश्वास नै रहेको देखिन्छ ।
पछिल्लो समयमा नेपालमा दैनिक ७ हजार बढी संक्रमित थपिइरहेका छन् भने दुईसयको दरले ज्यान गुमाइरहेका छन् । हालसम्म नेपालभर ५ लाख २० हजार बढी संक्रमित भेटिएको नेपालमा हालसम्म जम्मा २१ लाख १३ हजार ८० जनाले कोभिड–१९ विरुद्धको पहिलो चरणको खोप लगाएका छन् भने ५ लाख ५३ हजार ५ सय ८९ जनाले दोस्रो चरणको समेत खोप लगाएका छन् ।
यस महामारीको पछिल्लो समयमा देखिएको नेपालमा देखिएको कमजोर उपचार प्रणालीलाई सबल बनाउनु शर्माको प्रमुख दायित्व देखिएको छ । पछिल्लो समय देखिएका स्वास्थ्य सामाग्रीको अभाव र भएका सामाग्रीहरुको अव्यवस्थित प्रयोगलाई निराकरण गर्नु पनि शर्माको जिम्मेवारी रहन सक्छ । नेपालमा देखिएको स्वास्थ्य सामाग्रीको अभावलाई पूर्ति गराउनका लागि पहल गर्नका लागि नीतिगत र व्यावहारिक पहल गर्नपनि शर्माको जिम्मेवारी नै रहन्छ होला सायद ।
घरमा रहेका लाखौं कोरोना संक्रमित र अस्पतालको शैय्यामा रहेर अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्छ कि भनेर मानसिक तनाबमा रहिरहने हजारौं बिरामीले सहजताको श्वास फेर्न सकुन्, रोगलाई पराजित गर्न सक्छु भन्ने आत्मविश्वास पलाओस् ।
त्यसका साथै बाँकी विश्वले नै भोगिरहेको स्वास्थ्य सामाग्रीको अभावलाई यथाशक्य नेपाल भित्र्याएर नागरिकको जीवन जोगाउने दायित्व पनि शर्मामा थपिएको छ ।
पछिल्लो समयमा विभिन्न स्वास्थ्य सामाग्री खरिद तथा व्यवस्थापनमा विवादित बन्दै आएको संरचनाको जिम्मेवारी पाएका शर्माले आफूले यसअघि गरेका कार्यहरुमा जस्तै वाहवाही पाउने गरी जिम्मेवारी पूरा गर्ने अपेक्षा सर्वसाधारणले राखेका छन् भने कतिपय संक्रमितहरुलाई शर्माले सेना समायोजनमा पाएको सफलता कोरोना नियन्त्रणमा पनि पाउने आशा एवं विश्वास गरेका छन् ।
सिसिएमसीमा शर्माको नियुक्तिसँगै कोरोना संक्रमण भएर होम आईसोलेसनमा बसिरहेका कतिपयलाई अब आफूलाई अप्ठेरो भएको अवस्थामा अस्पतालहरुमा उपचार पाईन्छ भन्ने आशा पलाएको छ भने, अस्पताल भर्ना भएकालाई उपचारपछि छिट्टै घर फर्कन पाइन्छ भन्ने आशा पलाएको छ ।
संक्रमणको शिखरमा पुगेको बेला सर्वाधिकार जिम्मेवारी दिएर शर्मालाई नियुक्ति गरेको वर्तमान सरकारले कोरोना नियन्त्रणमा शर्माले ल्याउने योजना एवं कार्यलाई पूर्ण साथ दिनेमा कुनै द्विविधा छैन । सरकारले कोरोना नियन्त्रणका लागि अध्यादेश नै जारी गरिसकेको यस अवस्थामा शर्माको नेतृत्व नीतिगत तहमा र व्यावहारिक तहमा देखिएका कतिपय समस्याहरुलाई निराकरण गर्न अवश्य सफल हुन्छ ।
करिब ६ दशकसम्म देशको सेवामा जिम्मेवारीमा रहन पाउनु कुनै पनि नागरिकका लागि गौरवको विषय अवश्य नै हो, त्यसलाई सफलतापूर्वक सम्पन्न गर्नु अर्को दायित्व हो । त्यसैले शर्माको नेतृत्वसँगै घरमा रहेका लाखौं कोरोना संक्रमित र अस्पतालको शैय्यामा रहेर अक्सिजनको अभावमा ज्यान गुमाउनुपर्छ कि भनेर मानसिक तनाबमा रहिरहने हजारौं बिरामीले सहजताको श्वास फेर्न सकुन्, रोगलाई पराजित गर्न सक्छु भन्ने आत्मविश्वास पलाओस् । माओवादी लडाकुको सफल व्यवस्थापन पछि नेपाली समाजलाई हिंसाको त्रासबाट मुक्त गराउन सफल शर्माको नेतृत्वले अक्सिजनकै अभावमा ज्यान गुमाएका बिरामीको पीडा भविष्यमा अन्य नेपालीले भोग्न नपरोस्, शर्मालाई शुभकामना ।

