उपप्रधानमन्त्री पोखरेलका अधिकार किन खोसिरहेका छन् प्रधानमन्त्री ओली?


काठमाडौं– नेकपा एमालेका महासचिव समेत रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीका खास ‘स्तम्भ’ मानिएका व्यक्ति हुन्।

सरकारमा उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका ओलीले पोखरेललाई सुरुका दिनमा रक्षा मन्त्रालयको समेत जिम्मेवारी दिएका थिए। यसबाहेक नेपाल ट्रष्ट, कोभिड संकट व्यवस्थापन निर्देशक समिति (सीसीएमसी)का प्रमुखको पनि जिम्मेवारी दिएका थिए।

तर, विस्तारै पोखरेलका अधिकार खोस्दै आफैंसँग किन राखिरहेका छन् प्रधानमन्त्री ओली?

भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवाणे नेपाल भ्रमणमा आउने क्रममा पोखरेलबाट रक्षा मन्त्रालय खोसेर ओलीले आफैंसँग राखेका थिए। नेपाली सेनाको प्रस्तावका आधारमा पोखरेलबाट उक्त अधिकार खोसिएको थियो।

मन्त्रालयविहीन बनाएका पोखरेललाई ओलीले प्रधानमन्त्री कार्यालय हेर्नेगरी राखे पनि उनी सीसीएमसी र नेपाल ट्रष्टको नेतृत्वमा नै थिए।

ओलीले हालै पोखरेलबाट सीसीएमसीको निर्देशक समितिको संयोजक र प्रमुखको जिम्मेवारी पनि खोसेका छन्। खासमा कोभिड व्यवस्थापकीय काममा पोखरेल विवादमा तानिए पनि नेपाली सेनाको प्रस्तावका आधारमा नै अधिकार खोसिएको उच्च स्रोतको दाबी छ।

पोखरेलसँग रहेको निर्देशक समितिको संयोजक प्रधानमन्त्री ओली आफैं छन् भने उक्त समिति हेर्ने प्रमुखमा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरिएको छ।

‘ओम्नीलगायतका विभिन्न कम्पनीले ठेक्का पाएको विषयमा पोखरेलको नाम मुछिएको तथा कोभिड व्यवस्थापनमा प्रभावकारी काम नभएपछि अधिकार खोसिएको हो’, प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो।

तर नेपाली सेनालाई विश्वासमा लिनका लागि ओलीले पोखरेलका अधिकार आफूमा केन्द्रित गर्दै गएको दाबी गरिन्छ। कतिपयले भने मन्त्रिपरिषद विस्तारका क्रममा गृह मन्त्रालय दिन लागेका कारण उक्त अधिकार पोखरेलबाट खोसिएको हुन सक्ने अनुमान गरेका छन्।

यता, गृह मन्त्री अन्तर्गत रहेको नेपाल ट्रष्टको प्रमुखको जिम्मेवारी पनि खोस्ने तयारीमा ओली रहेका छन्। ‘ओलीको माथाहतमा नै सबै निकाय केन्द्रिकरण होस् भन्ने मनसायले खोसिएको हुनसक्छ’, पोखरेलनिकट स्रोतले अनुमान गरेका छन्।

त्यसो त ओली सरकार र पार्टी दुवैमा अति शक्तिशाली हुने चाहनामा छन्। उनले एमालेमा पनि आफूलाई शक्तिशाली अध्यक्षका रुपमा अधिकार केन्द्रिकरण गरेका छन्।

प्रतिक्रिया