

जसपाका अध्यक्ष ठाकुरले बोलाए कार्यकारिणी समितिको बैठक, यादव पक्षलाई कारवाहीबारे छलफल गर्ने

काठमाडौं – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बसेका छन् । बैठक अहिले बबरमहलमा जारी छ ।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूपक्षीय कार्यकारिणी समितिको बैठकबाट ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि उनले पनि आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने(नहुने, अध्यक्ष उपेन्द्र यादव पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बसिरहेको हो ।
ठाकुरले जेठ ७ गते एक विज्ञप्ति जारी गरी कार्यकारिणी समितिको बैठक स्थगित भएको जानकारी गराएका थिए । त्यही दिन अध्यक्ष उपेन्द्र यादवले पनि विज्ञप्ति जारी गरी बैठक स्थगित नभएको जानकारी गराएका थिए ।

