

मेरो हस्ताक्षर दुरुपयोग भयो भन्दै राष्ट्रपतिसमक्ष एमाले सांसदको पत्र

काठमाडौं – नेकपा एमालेका सांसद जयकुमार राईले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने सांसदको सूचीमा आफ्नो हस्ताक्षर दुरुपयोग भएको भन्दै राष्ट्रपतिलाई पत्र पठाएका छन् ।
सुनसरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले आफू एमालेको सांसद रहेको र आफ्नो अध्यक्षको विरुद्धका विपक्षी पार्टीका नेतालाई प्रधानमन्त्री बनाउने गरी कुनै हस्ताक्षर नगरेको उनले पत्रमा उल्लेख गरेका छन् ।
माधव नेपाल पक्षका राई वैशाख २७ गते प्रधानमन्त्रीलाई विश्वासको मत दिन भने अनुपस्थित रहेका थिए । पहिलेकै हस्ताक्षर दुरुपयोग भएको उनले बताएका छन् ।
सांसद राईले आफ्नो पार्टी अध्यक्ष प्रधानमन्त्री केपी ओलीको विरुद्धमा शेरबहादुरलाई प्रधानमन्त्री बनाउने प्रयोजनका लागि आफूले हस्ताक्षर नगरेको बताएका छन् । आफू ओलीको समूहमा पनि नलागेको, तर पार्टी एकताको पक्षमा रहेको उनले स्पष्ट पारे ।
काँग्रेस सभापति देउवाको समर्थनमा शुक्रबार अपरान्ह शीतल निवासमा १४९ सांसदले हस्ताक्षर बुझाएका छन् ।

