

गण्डकीमा मुख्यमन्त्री गुरुङले मन्त्रिपरिषद विस्तार गरे, दिपक मनाङे शपथमा अनुपस्थित हुनुको कारण

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले चार जना मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद विस्तार गरेका छन्।
आर्थिक मामिला तथा योजनामन्त्रीमा किरण गुरूङ नियुक्त भएका छन्। अन्य तीन जनालाई भने मन्त्रालय तोकिएको छैन।
मुख्यमन्त्री गुरुङले यसअघि भौतिक पूर्वाधारमन्त्री रामशरण बस्नेत, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्साल र सामाजिक विकासमन्त्री रहेका नरदेवी पुनलाई विनाविभागीय मन्त्रीमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख सीताकुमारी पौडेलले चारैजनालाई शपथ गराइन्। कोरोना संक्रमित भएरै दोस्रो कार्यकालको सपथ लिएका मुख्यमन्त्री गुरूङले २९ वैशाखमा नै सरकार विस्तारको तयारी गरेका थिए।
सामाजिक विकास मन्त्रालय फुटाएर दीपक मनाङेलाई युवा तथा खेलकुद मन्त्री बनाएपछि मन्त्रालयको संख्या आठ पुगेको थियो। मनाङे बुधबारको शपथ ग्रहण कार्यक्रममा अनुपस्थित भए। उनी बाहिर रहेका कारणले कार्यक्रममा सहभागी हुन नसकेको बताइएको छ।

