

नवलपरासीको भारतीय सीमा नाकामा गोली चल्यो : एक युवक घाइते

नवलपरासी – पश्चिम नवलपरासीको भारतीय सीमावर्ती नाकामा गोली चलेको छ । गोली लागेर एक २३ वर्षीय युवक घाइते भएका छन् । गोली लागेर घाइते हुनेमा प्रतापपुर गाउँपालिका–६ का २३ वर्षीय अविनाश राजभर छन् । उनको शहीद स्मृति अस्पताल चौपातामा उपचार हुन नसकेपछि बुटवल सिटी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।
भीडले आक्रमण गर्दा नाकामा खटिएका सशस्त्र नायब निरक्षक (सई) शंकर बुढाथोकी समेत घाइते भएको र उनको टाउकोमा गम्भीर चोट लागेको सशस्त्र प्रहरीले जनाएको छ ।
भारतीय सीमा क्षेत्रको सुस्ता गाउँपालिका–५ स्थित नथुई नाका (वनकट्टी) बाट भारततर्फ जान आएका स्थानीयलाई नाकामा खटिएका सशस्त्र प्रहरीले रोकेका थिए । शुरुमा ५–७ जनाको समूहमा जान आएका व्यक्तिहरुलाई सशस्त्रले रोकेर जान नदिएपछि उनीहरुले गाउँमा पुगेर अरू स्थानीयलाई खबर गरेका थिए ।
५०–६० जनाको समूहमा आएका स्थानीयहरुले सशस्त्रमाथि ढुंगामुढा प्रहार गरेपछि झडप भएको सशस्त्र प्रहरी बल नेपाल नं २६ गण हेडक्वाटर पश्चिम नवलपरासीका उपरीक्षक महेश अधिकारीले जानकारी दिएका छन् । ‘भीडलाई नियन्त्रण गर्न शुरुमा अश्रु ग्याँस प्रहार गरिएको थियो’, प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले भने, ‘तर भीड अझ उग्र हुँदै आक्रमणमा उत्रिएपछि बाध्य भएर एक राउण्ड गोली चलाइएको हो ।’

