‘बादललाई समर्थन छैन, मतदाताले स्वविवेक प्रयोग गरुन्’


काठमाडौं – राष्ट्रियसभाको उपनिर्वाचनमा उम्मेदवार रहेका रामबहादुर थापा ‘बादल’ लाई नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाले सहयोग गर्ने वचन नदिएको नेपालको सचिवालयले प्रष्ट पारेको छ ।

नेपालले राष्ट्रियसभाको निर्वाचनमा सूर्य चिन्हधारी एमाले उम्मेदवार बादललाई सघाउने वचन नदिएको नेपालका स्वकीय सचिव मोहन गौतमले मंगलबार साँझ वक्तव्य जारी गर्दै जानकारी दिएका हुन्।

गौतमले मतदातालाई स्वविवेक प्रयोग गर्न दिने कुरामा सहमति भए पनि बादललाई समर्थन नजनाएको बताएका छन्। नेता नेपालले अन्य दल समेतलाई सहमत गराएर आफूले डा. खिमलाल देवकोटालाई आफ्नै पहलमा उम्मेदवार बनाएकाले अहिले अन्यथा गर्न नसक्ने स्पष्ट पारेको बताइएको छ।

आउँदो ६ जेठमा चुनाव हुँदछ। उपनिर्वाचन नजिकिँदै गहिरहेका बेला नेता नेपाललाई भेट्न थापा बिहान कोटेश्वर पुगेका थिए। तर, बादलका प्रेस संयोजक किरण भट्टराईले एक विज्ञप्ति जारी गर्दै निर्वाचनमा आफ्नो पूर्णसहयोग रहने बताएको उल्लेख गरेका छन्।

बादल र देवकोटा दुवेजना एमालेबाट चुनावमा होमिएका हुन्। पार्टी विवाद समाधानका लागि संस्थापन पक्षसँग संवाद शुरू हुनुअघि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका विपक्षीसँग मिलेर खिमलाल देवकोटालाई उम्मेदवारका रुपमा अगाडि सारेको थियो।

प्रतिक्रिया