

राष्ट्रियसभा उपनिर्वाचनमा बादललाई मत दिन एमाले महासचिवको ह्वीप

काठमाडौं – बागमती प्रदेशको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा रामबहादुर थापा ‘बादल’लाई मत दिन नेकपा एमालेले ह्वीप जारी गरेको छ।
पार्र्टी महासचिव ईश्वर पोखरेलले प्रदेसभा सदस्य र बागमती प्रदेश अन्तर्गतका स्थानीय तहका प्रमुख र उप्रमुखका नाममा एउटै व्यहोराको पत्र पठाएका हुन्।
पत्रमा बादल एमाले उम्मेदवार रहेको र उनका पक्षमा मतदान गर्न निर्देशन दिइएको छ। बागमती प्रदेशका लागि राष्ट्रियसभाको उपचुनाव ६ जेठमा हुँदैछ।
‘बागमती प्रदेशको राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट आधिकारिक उम्मेदवार क. रामबहादुर थापामगर भएको जानकारी गराइन्छ,’ पत्रमा भनिएको छ।
‘पार्टीको उम्मेदवारको पक्षमा निर्वाचन कार्यक्रम अन्तर्गत मिति २०७८ जेष्ठ ६ गते ०९ः०० बजेदेखि १५ः०० बजेसम्म हेटौंडामा हुने मतदानमा अनिवार्य उपस्थित भई पार्टीका उम्मेदवारको चुनाव चिन्ह सूर्यमा मतदान गर्नुहुन पार्टी निर्णयानुसार निर्देशन गर्दछु,’ पोखरेलले जारी गरिएको विज्ञप्तिमा उल्लेख छ।
उपचुनावमा विपक्षी गठबन्धबाट नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी (जसपा)लगायतले डा. खिमलाल देवकोटालाई अघि सारेका छन्।

