‘बहुमतको सरकारको लागि दाबी पेश भएन’


काठमाडौं – राष्ट्रपति कार्यालयले बहुमतको सरकारको लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय सीमाभित्र कसैले पनि बहुमतको सरकारको लागि दाबी नगरेको जनाएको छ।

बिहीबार साँझ राष्ट्रपति कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले दिएको साँझ ९ बजेको समय सीमाभित्र कुनै पनि कसैले बहुमतको सरकारको लागि दाबी पेश नगरेको उल्लेख छ।

विपक्षी दलहरूसँग बहुमत नपुग्ने भएपछि कसैले पनि दाबी नगरेका हुन्। सत्तारुढ नेकपा एमालेले पनि राष्ट्रपतिको आह्वानअनुसार प्रधानमन्त्रीमा दाबी नगर्ने निर्णय गरेको थियो।

२७ वैशाखमा प्रतिनिधिसभामा विश्वासको मत गुमाएका केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री बन्ने बाटो खुलेको छ। विपक्षीले बहुमत जुटाउन नसकेपछि राष्ट्रपतिले अब संविधानको धारा ७६ (३) अनुसार ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको हो।

दुई वा दुईभन्दा बढी दलहरुले बहुमत सिद्ध गर्न नसके ठूलो दलको नेतालाई प्रधानमन्त्री बनाइने संविधानको धारा ७६ (३) मा प्रावधान छ।

प्रतिक्रिया