ओली–नेपाल सहमतिः ओली नै प्रधानमन्त्री

कांग्रेस–माओवादीले सरकारमा दावी नगर्ने


काठमाडौं – चपलीहाइटस्थित क्याप्टेन रामेश्वर थापाको निवासमा भएको भेटवार्तामा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच एकखालको सहमति भएको छ।

अध्यक्ष ओलीसँग झण्डै चार घण्टा छलफल गरेपछि नेता नेपालले राजीनामाको कुरा केही दिनलाई टरेको बताए। ‘हामी दुईजना बीच कुराकानी हुँदा पार्टी भित्रकै विषयमा छलफल भए। छलफलमा २८ फागुनको निर्णय फिर्ता गर्ने र सर्वोच्चको फैसलाअनुसार जेठ २ गतेको अवस्थामा फर्कने बारेमा कुरा भएको छ,’ नेता नेपालले भने।

दुई नेताबीचको वार्ता सकारात्मक भएपछि अब एमाले विवाद समाधानतर्फ अघि बढेको छ। त्यसैले २८ वैशाखमा संसदमा विश्वासको मत गुमाएपनि ओली नै प्रधानमन्त्री बन्ने सम्भावना बढेको छ।

यता नेपाली कांग्रेस र माओवादी केन्द्र बहुमतको सरकार गठनका लागि राष्ट्रपतिसमक्ष दावी पेश नगर्ने टुंगोमा पुगेका छन्। माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब ओली नै प्रधानमन्त्री बन्ने निश्चित भएको बताएका थिए।

ओली हटाउने सन्दर्भमा जसपा अध्यक्ष महन्थ ठाकुर पक्ष असहमत हुनु र एमालेको माधव पक्षले राजीनामा नदिनुले बहुमत नपुगेसँगै कांग्रेस–माओवादी गठबन्धन शीतल निवास जाने कुराबाट ब्याक भएको हो।

प्रतिक्रिया