

एमालेकी नेतृ झाँक्रीको टिप्पणी- ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न

काठमाडौं – बिहिबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच वार्ता चलिरहेकै बेला नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले ठोस प्रस्ताव र लिखित सहमतिबिना कुनै अलमलमा पर्न नहुने बताएकी छिन् ।
बूढानीलकण्ठमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच वार्ता चलिरहेकै बेला उनले यस्तो टिप्पणी गरेकी हुन् ।
‘ठोस प्रस्ताव र लिखित सहमतिबिना अलमलमा पर्नुहुन्न,’ ट्वीटरमा उनले लेखेकी छिन्, ‘आफूले संसद विघटन गरेको सही थियो र छ भन्ने प्रमाणित गर्न प्रभुको इशारा यो सबै हुँदैछ ।’
आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्ने भन्दै उनले लेखेकी छिन्, ‘जनता, लोकतन्त्र र संविधानको रक्षाको लागि हाम्रो अगाडि एक मात्र विकल्प हो विद्रोह। हाम्रो आत्मसमर्पणले कम्युनिष्ट आन्दोलनको विसर्जन गर्छ। सचेत बनौँ ।’

