

ओली हराउन नेपाल पक्षले राजीनामा दिनु अनिवार्य, स्थायी कमिटी बैठक बोलाइयो

काठमाडौं– एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हराउँदै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा निर्वाचित गराउन नेता माधवकुमार नेपाल पक्षको राजीनामा अनिवार्य देखिएको छ।
देउवालाई बहुमत पुग्ने अवस्था नआएपछि तथा जसपाका अध्यक्ष महन्थ ठाकुर पक्षले सरकार गठनमा सहयोग नगर्ने भएपछि एउटा मात्र विकल्प नेता नेपाल पक्षका सांसदहरुको राजीनामा अनिवार्य बनेको हो।
उनीहरुले प्रतिनिधि सभा सदस्य पदबाट राजीनामा नदिए देउवालाई अहिले कायम रहेको संख्यामा बहुमत नपुग्ने स्पष्ट चित्र देखिएको छ।
राजीनामा दिने विषयमा नेपाल पक्षमा विवाद उठेको थियो। सोमबार उक्त विवाद भएपछि नेपाल पक्ष प्रतिनिधि सभामा अनुपस्थित भएको थियो। राजीनामा दिने या नदिने विषयमा पुनः मंगलबार नेपाल पक्षले स्थायी कमिटीको बैठक डाकेको छ।
भौतिक रुपमा उपस्थित नभए पनि भर्चुअल रुपमा बैठक बस्ने तयारी भएको छ।

