अब प्रधानमन्त्री ओलीको बाटो यस्तो हुनेछ


काठमाडौं– विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुई भन्दा बढी दललाई संविधानको धारा ७६(२) अनुसारको सरकारका लागि आह्वान गरिसकेकी छन्।

जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर कित्ताले नयाँ सरकार गठनमा सहभागीता नजनाउने स्पष्ट भनिसकेको छ। उक्त विषयको लिखित पत्र राष्ट्रपतिलाई बुझाउने तयारी भएको छ।

यस्तो बेला प्रधानमन्त्री ओली अब कुन बाटोबाट अघि बढ्लान्?

राष्ट्रपति भण्डारीले समयसीमा दिएर सरकार गठनको दाबी गर्न भनेपछि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र उपेन्द्र यादवको समूह सक्रिय भए पनि कायम रहेको संख्याको बहुमत पुग्नेछैन। ओलीका लागि एमालेका नेता माधवकुमार नेपालसहित २८ सांसद चुनौति हुनेछन्।

दोस्रो तहका नेता अहिले एमालेका सांसदलाई फकाउने र मिलाउने तयारीमा वार्तामा छन्। सकभर नेपाल समूहसँग सम्झौता गर्ने त्यो पनि सम्भव नभए उक्त समूहका सांसदलाई आफूतिर तान्ने ओलीको प्रयत्न हुनेछ।

पहिलोचाहिँ विश्वासको मत दिन सदन नगएको नेपाल समूह विकल्पको सरकार गठनमा सहयोगी बन्न खोजे पनि दलगत हिसाबमा राष्ट्रपतिले आह्वान गरेका कारण देउवालाई प्रधानमन्त्री बन्नका लागि कठिन हुनेछ।

‘विकल्पको सरकार बन्न नदिनका लागि नै ओलीले जोड गर्नेछन्। सकभर बहुमत सांसद नपुगोस् भन्नेमा नै उनले खेल्नेछन्’, उच्च स्रोतले भन्यो,‘जसपाको एउटा कित्ता स्पष्ट भएका कारण अब एमालेलाई नै व्यवस्थापन गर्नुपर्ने चटारो ओलीलाई रहेको छ।’

बहुमत नपुगेको अवस्थामा राष्ट्रपतिले ७६ (३) अनुसार ठूलो दलको हैसियतमा ओलीलाई नै प्रधानमन्त्री नियुक्ति गरी विश्वासको मत लिन भन्नेछिन्।

ओलीले सदनमा विश्वासको मत पाउन सक्ने अवस्था नरहेका कारण विस्तारै सदनको गणितका कारण नै मुलुक ७६ (४) र (५) हुँदै ६ महिनाभित्र मध्यावधि चुनावको प्रक्रियामा जाने विश्लेषण गरिएको छ।

प्रतिक्रिया