

एमालेबाट बादल बने राष्ट्रियसभाका उम्मेदवार, बालुवाटारबाट सिधै मकवानपुर उडे

काठमाडौँ – राष्ट्रियसभा उपचुनावका लागि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले उम्मेदवारी दिने भएका छन्। यसअघि उम्मेदवारी नदिने भनी विभिन्न चर्चा आएपनि बादलले उम्मेदवारी दिने निर्णय गरेका हुन्।
आगामी ६ जेठमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिन मकवानपुरतर्फ हिँडिसकेका छन्। उम्मेदवार टुंगो लगाउनुपहिले आज एमाले अध्यक्ष केपी शर्मा ओली, बादलसहित एमालेका नेताहरूले बालुवाटारमा छलफल गरेका थिए।
छलफलपछि उम्मेदवारी दिन नेता बादल बालुवाटारबाट सीधै हेलिकोप्टरमा मकवानपुर उडेका छन्। बामती प्रदेशअन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटको राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि उनले उम्मेदवारी दिने भएका हुन्।
बागमती प्रदेश अन्य समूहतर्फ रिक्त भएको राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि शुक्रबार उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ।
यसैबीच विपक्षी गठबन्धन (नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एमालेका खनाल–नेपाल समूह र जनता समाज पार्टी)का उम्मेदवार डा. खिमलाल देवकोटा उम्मेदवारी दिन हेटौंडा पुगिसकेका छन्।
‘मनोनयनका लागि हेटौंडा आइपुगेको छु। सामाजिक सञ्जालयलगायत सञ्चारका विभिन्न माध्यमबाट यहाँहरुले दर्शाउनुभएको सदभावका लागि निकै नै आभारी छु,’ देवकोटाले सामाजिक सञ्जालमा लेखेका छन्।

