

राष्ट्रपति भण्डारीका सुरक्षा प्रमुख जर्नेललाई कोरोना संक्रमण, सीसीएमसी हेर्ने अफिसर परिवर्तन

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका सुरक्षा प्रमुख नेपाली सेनाका जर्नेल निरज पौडेललाई कोरोना संक्रमण भएको छ। राष्ट्रपति कार्यालयमा सुरक्षा प्रमुखको जिम्मेवारी सम्हाल्न जान लागेकै बेला पौडेललाई कोरोना पुष्टि भएको हो।
सैनिक स्रोतका अनुसार अहिले नेपाली सेनाको नगरकोट शिक्षालयको कमाण्ड सम्हालिरहेका पौडेल केही दिनमै शीतल निवासको सुरक्षा सम्हाल्न जाने तयारीमा थिए।
सोहीबेला स्वाब संकलन गरेर परीक्षणको लागि पठाउँदा रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको हो। दोस्रोपटक संक्रमित भएका पौडेल यतिबेला घरमै बसेर उपचार गराइरहेका छन्।
देशका भिआइपीहरुलाई समेत कोरोना लागिरहेका बेला उनीहरुको सुरक्षा प्रवन्धमा खटिने उच्चसुरक्षा अधिकारीहरु पनि संक्रमणको शिकार बनेका छन्। सिनियर अफिसरहरु नै संक्रमणको शिकार हुन थालेपछि सेनाले सबै औपचारिक तथा अनौपचारिक कार्यक्रम बन्द गरेको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि फ्रन्टलाइनर भएर खटिइरहेको सेनामा संक्रमितको संख्या लगातार बढिरहेको छ।
सैनिक मुख्यालयले दोस्रो लहरको कोरोना चरम उत्कर्षमा पुगेका बेला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) हेर्ने सैनिक अफिसर नै परिवर्तन गरेको छ।
यसअघि मुख्यालयले सीसीएमसी हेर्ने जिम्मा पाएका सीताराम खड्कालाई हटाएर मध्य पृतनाबाट अशोक सिग्देललाई झिकाइएको छ। अनुसन्धान तथा निरीक्षण विभागको कमाण्डसमेत सम्हालेका खड्कालाई सीसीएमसीबाट हटाएर सिग्देललाई ल्याइएको हो।
सेनाले कोभिडसम्बन्धी सबै हेर्ने जिम्मा उपत्यका कमाण्डलाई दिएको छ।

