

एमाले स्थायी कमिटीको आकस्मिक बैठक डाकियो, ‘माधव नेपालमाथि थप कारबाही’

काठमाडौं– सत्तारुढ नेकपा एमालेले आकस्मिक रुपमा स्थायी कमिटीको बैठक विहीबार डाकेको छ। अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटारमा बोलाएको बैठकमा नेपाली कांग्रेसका नेतासँग भएको कुराकानीका साथै आगामी राजनीतिक रणनीतिका विषयमा छलफल गर्नेछ।
६ जेठमा हुन लागेको राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेको आधिकारिक उम्मेदवारमा गृहमन्त्री रामबहादुर थापालाई उठाएको अवस्थामा अर्का नेता माधवकुमार नेपालले खिमलाल देवकोटालाई विपक्षी गठनबन्धनको साझा उम्मेदवार बनाएकोमा पनि चर्चा हुनेछ।
उच्च स्रोतका अनुसार समानान्तर गतिविधि गर्दा स्पष्टिकरण सोध्दै ६ महिना निलम्बित गरिएका नेता नेपालले पार्टीको आधिकारिक लाइनविरुद्ध उम्मेदवार खडा गरेकोमा थप कारबाहीको प्रस्ताव पनि हुनेछ।
थप कारबाहीको प्रकृति कस्तो रहने भन्ने विषयमा भने यकिन भएको छैन। एमालेले स्पष्टिकरण सोधेका सबैलाई कारबाही गर्ने जिम्मा केन्द्रीय महाधिवेशन आयोजक कमिटीले स्थायीलाई दिएको छ।

