के मुख छाडेर अपशब्द बोल्दा मन हलुङ्गो हुन्छ?


अपशब्द बोल्दा हलुङ्गो अनुभव किन हुन्छ?

फोहरी शब्द बोलेको भन्ने हामीलाई थाहा भएर त्यस्तो हुने हो कि साँच्चिकैमा मुख छाड्दा मस्तिष्कमा वा हाम्रो शरीरमा त्यस्तो केही परिवर्तन नै पनि हुने गर्छ?

मुख छाड्ने बानी भएकाहरूले बुढी औँला नराम्री ठोक्किँदा होस् वा हतार हुँदा ट्राफिक जाममा पर्दा होस् अथवा जीउमा तातो चिया कफी पोखिँदा नै होस् त्यस्तो अप्रत्याशित अवस्थामा मुखबाट अपशब्द निकाल्छन्।

र उनीहरूका अनुसार मुख भरीको गाली ओकलेपछि केही मनमा हलुङ्गो वा सन्चो अनुभव हुने गर्छ। मुख छाड्ने बानी कसैमा धेरै हुन्छ कसैमा कम र कोही त अत्यधिक खुसीमा पनि मुख छाड्ने गर्छन्।

पूर्वीय समाजको दाँजोमा आधुनिक पश्चिमा समाजमा यस्तो प्रवृत्ति बढी देखिन्छ। तर संसारका सबैजसो भाषा र संस्कृतिमा अपशब्द बोल्ने वा मुख छाडेर बोल्ने गरेको व्यवहार देख्न पाइन्छ। फोहोरी वा खराब शब्द बोल्नुको पछाडिको वैज्ञानिक कारण के होला त?

के हो त अपशब्द बोल्नु

चित्रः अपशब्द जनाउने संकेतहरू

‘खराब गाली वा अपशब्द यसै कारणले बोलिन्छ भनेर ठोकुवा गरेर भन्नु सहज छैन, ‘अपशब्द बोल्ने बानीको विषयकी ज्ञाता तथा मुख छाड्नु राम्रो हो भन्ने अर्थको शीर्षक भएको पुस्तककी लेखिका डा एमा बर्न बताउँछिन्।

उनी भन्छिन् यो यस्तो भाषा हो जुन हामी कि स्तब्ध हुँदा, अचम्मित हुँदा, खुसी हुँदा, ठट्यौली गर्न खोज्दा वा गाली गरेर आक्रोश व्यक्त गर्न खोज्दा प्रयोग गर्ने गर्छौँ। तर यो सांस्कृतिक अभिव्यक्तिको एउटा चरित्र पनि हो जुन एउटा निश्चित समुदाय, भाषिक समूह, समाज, देश वा धर्मको सन्दर्भ भित्रमा मात्रै अर्थ लाग्ने हुन्छ।

डा बर्न भन्छिन्, ‘समाजले अपशब्द वा फोहोरी शब्द वा मुख छाड्ने भनेको के हो भनेर सर्वसम्मतिले नै निर्धारण गरेको हुन्छ। र त्यस्तो कुरा निश्चित संस्कृतिमा के के कुरा वर्जित छ भन्नेमा आधारित हुन्छ। कतै शरीरको अङ्गको नाम लिँदा फोहर बोलेको हुन्छ, कतै जनावरको नाम लिँदा, कतै रोगको कुरा गर्दा त कतै निश्चित शारीरिक गतिविधिको चर्चा गर्दा।’

तर अपशब्द बोल्ने कुरामा एउटा महत्त्वपूर्ण तत्त्व हुन्छ: ‘मुख छाड्दा भावनात्मक प्रभाव हासिल हुनका लागि कुनै निश्चित समाजमा विद्यमान वर्जित गरिएका विषय वा प्रसङ्ग त्यसमा जोडिएको हुन्छ।’ डा बर्न भन्छिन् अपशब्द भनेको त्यस्तो भाषा हो जुन सामान्य शिष्टाचारको अपेक्षा गरिने अवस्थामा पटक्कै बोल्ने गरिँदैन।

हामी किन मुख छाड्ने गर्छौँ त?

ट्राफिक जाममा पर्दा रिसाएका जस्तो देखिने एक सवारी चालक

‘सामान्यतया बानी भएकाहरूमा तनावपूर्ण अवस्थामा रहेको बेला वा कुनै अनपेक्षित नराम्रो घटना हुन पुगेको बेला त्यसप्रतिको स्वाभाविक प्रतिक्रिया जसरी नै मुखबाट अपशब्द निस्कने गर्छ। र त्यसो गर्दा एक प्रकारको सुखद अनुभूति हुन्छ,’ बीबीसी विश्व सेवाका एक श्रोता ग्याडीले बताए।

अन्य श्रोताहरूले पनि त्यस्तो अभिव्यक्तिप्रति सहमति जनाएका छन्। ‘खुसीको अवसरमा पनि मेरो मुखबाट फोहरी शब्द निस्कन्छ वा एकदमै अचम्मित हुँदा पनि। केही कुरामा पश्चात्ताप लाग्दा वा दुख्दा वा रिसमा पनि। मनोदशा अभिव्यक्त गर्ने यो नै सबैभन्दा सच्चा उपाय जस्तो लाग्छ मलाई,’ मिखाइल भन्छन्।

क्लारा भन्छिन्, ‘म धेरै मुख छाड्ने गर्दिनँ। किनकि मेरो विचारमा धेरै अपशब्द बोलिरहँदा त्यसले भावना अभिव्यक्त गर्ने शक्ति गुमाउँछ कि भन्ने लाग्छ। जुन बेला सर्वथा उपयुक्त हुन्छ त्यही बेला त्यस्तो भाषाको प्रयोग गर्नुपर्छ।’

‘निश्चय नै सबै मानिसले मुख छाड्दैनन्। कहिल्यै मुख नछाड्ने मानिसहरू पनि धेरै छन्। तर श्रोताले अभिव्यक्त गरेका माथिका विचारले के कुरा बुझ्न सघाउँछ भने मुख छाड्दा एकाएक केही मनमा अड्किएर बसेको कुरा जोडले बाहिर फालेको जस्तो अनुभव हुन्छ। केही यस्ता शब्दहरू छन् जुन शब्द बोल्दा तिनमा शक्तिको तह लुकेर रहेको जस्तो अनुभव हुन्छ।

डा बर्न भन्छिन् उनले अनुसन्धान गर्दा के पनि फेला पारिन भने मस्तिष्कमा आघात पुगेर बोल्ने क्षमता गुमाएका केही मानिसहरूमा समेत अपशब्द बोल्ने क्षमता भने कायम रहेको हुन्छ।

उनी भन्छिन् हामीले निश्चित शब्दहरूलाई निकै बलियो संवेदना वा आवेगको भावनासँग जोडेर राखेका हुने रहेछौँ र त्यस्तो संवेदना सामान्य बोलीचालीमा प्रयोग हुने भाषा भन्दा अलग्गै मस्तिष्कमा सुरक्षित रहने गर्दो रहेछ।

‘मुख छाड्ने वा अपशब्द बोल्ने व्यवहार हाम्रो अन्तर्मनको भावनासँग एकदमै नजिकबाट जोडिएको हुन्छ। त्यसैले मुख छाड्न बोलिने शब्दहरू उच्चारण गर्न आवश्यक पर्ने शरीरका मांसपेशीहरूको चालको सङ्केत मस्तिष्कको बेग्लै तर थुप्रै भागमा भण्डारण भएर रहेको हुन्छ। त्यसैले आवश्यक पर्दा त्यो जुन ठाउँबाट पनि उपलब्ध हुन जाँदो रहेछ।’

विभिन्न भाषामा अपशब्द

गाली गरेको जस्तो मुख बनाउँदै गरेका पुरुष

उसो भए सबै संस्कृतिमा अपशब्द बोल्दा वा मुख छाडेर बोल्दा बोल्नेलाई उस्तै अनुभूति हुन्छ त? यस विषयमा पनि बीबीसी विश्व सेवाका केही श्रोताहरूले आफ्नो विचार वा अनुभव बताएका छन्।

‘स्पेनी भाषा फोहोर बोल्नमा निकै सिर्जनात्मक लाग्छ मलाई,’ क्लारा भन्छिन्, ‘किनभने स्पेनी भाषा बोल्ने कोही मान्छेले एकदमै रिसाएर मुख छाड्छ भने उसले पूरा वाक्य बोलेर त्यसो गर्छ। त्यस्तो अपशब्दमा कर्ता, क्रिया र कर्म सबै हुन्छ। त्यसमा पूरै कथा हुन्छ। सबै फोहरी शब्दमा।’

मल्टाबाट जेन भन्छिन्, ‘हामीकहाँ कसैलाई सबैभन्दा खराब शब्द प्रयोग गरेर गाली गर्दा जे भनिन्छ त्यसको अर्थ शुक्रकीट भन्ने लाग्छ। तर यो अरूलाई अनौठो लाग्न सक्छ किनकि अरू भाषामा कसैलाई शुक्रकीट भनियो भने त्यसलाई अर्कै अर्थमा बुझिन्छ।’

‘रुसी भाषा फोहोर गाली गर्नका लागि सबैभन्दा उत्तम भाषा होला भन्ने म ठान्छु। यो भाषामा यति धेरै गाली गर्ने कुराहरू छन् की गाली नै गर्ने हो भने जे भनेर पनि फोहर गाली गर्न सकिन्छ,’ मिखाइल भन्छन्, ‘यहाँ अपशब्द बोल्ने चलनको सम्बन्ध यहाँको साहित्यसँग छ की भन्ने मलाई लाग्छ। र अपशब्द नबोल्ने रुसी मान्छेको त म कल्पना नै गर्न सक्दिनँ।’

मान्डारिन चिनियाँ भाषामा पनि अनौठो अपशब्द प्रयोग गर्ने चलन पाइन्छ त्यस्तो शब्द प्रयोग गर्दा कसैको १८ पुस्तालाई नराम्रो गरिदिन्छु भन्ने अर्थमा बोल्ने गरिन्छ, अर्की श्रोता ज्याकलिनले बताइन्। संसारभर अपशब्द बोल्दा प्रयोग गरिने विषयवस्तु फरक फरक देखिए पनि मुख छाडेर बोल्ने चलन भने साझा रूपमा रहेको देखिन्छ।

प्रतिक्रिया