कोरोना संक्रमणबाट हेटौडा र डोटीमा थप एक-एक जनाको मृत्यु


डोटी – कोरोना भाइरस संक्रमणबाट डोटीमा थप एकजना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर मल्लका अनुसार जिल्लाको आदर्श गाउँपालिका–२ कालिकास्थानका ६२ वर्षीय एक पुरुषको कोरोनाका कारण आज बिहान मृत्यु भएको हो ।

मृतकको कोरोना परीक्षण गर्दा गएको चैत २० गते पिसिआर पोजेटिभ देखिएको थियो । कोरोना भाइरसको सङ्क्रणबाट डोटीमा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ भने अस्पतालको आइसोलेशनमा मृत्यु हुनेमा उनी पहिलो हुन् । मृतक दम र प्रेसरको बिरामी रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । मृतकको शव नेपाली सेनाले आजै अन्त्यष्टि गर्ने तयारी गरेको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यसैगरी कोरोना सङ्क्रमणका कारण हेटौँडा अस्पतालमा थप एकजना पुरुषको मृत्यु भएको छ ।

कोरोना सङ्क्रमणका कारण मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका–५ बस्ने ६८ वर्षीय एक पुरुषको मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा सागर काफ्लेले जानकारी दिए। उनका अनुसार गत वैशाख १५ गते अस्पताल भर्ना भएका ती पुरुषको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । उनमा वैशाख १४ गते नै कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

यससँगै हेटौँडा अस्पतालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कूल सङ्ख्या ६ पुगेको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया