‘शरीरमा चोट छैन्, गाडीमा निसास्सिएर मृत्यु भएको वा हत्या गरेको भन्ने खुलेन’


काठमाडौं – दाङको तुलसीपुर उपमहानगरपालिका– ६ स्यालीबजारमा पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको कारभित्र मृत भेटिएका तीन बच्चाको पोष्टमार्टम रिपोर्ट आएको छ।

मंगलबार साँझ सार्वजनिक रिपोर्टमा ति बच्चाको शरीरमा कुनै चोटपटक लागेको छैन। शव गलिसकेकाले गाडीभित्र निसासिएर मृत्यु भएको वा कसैले हत्या गरेको भनि भन्न नसकिने पोष्टमार्टममा खुलाइएको छ।

त्यसका लागि भिसेरा परीक्षण गर्नुपर्ने पोस्टमार्टम रिपोर्टमा उल्लेख गरिएको छ। मृतक भेटिएको भन्दा २४ घण्टा अगाडी नै तीनैजनाको एकै समयमा मृत्यु भएको पोष्टमार्टमा रिपोर्टमा खुलाइएको छ।

यद्यपी उनीहरुको मृत्यु हुनुको कारण भने खुल्न सकेको छैन। अब भिसेरा रिपोर्ट गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक पर्ने सामग्री काठमाडौं पठाउने तयारी भएको प्रहरीले जनाएको छ।

अहिले गाडी धनी यादव गैरे र चालक पदमबहादुर बस्नेतलाई म्याद थप गरेर अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी शिबबहादुर सिंहले जानकारी दिए।

गत १ माघदेखि पार्किङ गरिराखेको भारतीय नम्बर प्लेटको आरजे सीसी ०८८५ नम्बरको गाडीमा तुलसीपुर उपमहानगरपालिका –६ गाइडहर बस्ने भीमबहादुर परियारका १० बर्षीय छोरा सन्देश परियार, सन्तोष परियारका ७ बर्षीय छोरा सुवर्ण परियार र किरण परियारका ७ बर्षीय छोरा करण परियार मृत भेटिएका थिए।

उनीहरुका परिवारले सत्यतथ्य छानविन नहुँदासम्म शव नबुझ्ने अडान राखेका छन्।

प्रतिक्रिया