ओलीले संसदमा विश्वासको मत लिनुअघि नेपाल पक्षका २१ सांसदले दिन सक्छन् राजीनामा (नामसहित)


काठमाडौं– ५ पुसमा प्रतिनिधि सभा विघटनको आफ्नो निर्णयलाई औचित्य पुष्टि गर्न लागि परेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर बनाउन नेता माधवकुमार नेपाल पक्षका २१ जना प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्यले राजीनामा दिने तयारी गरेका छन्।

१२१ जना सदस्य रहेको नेकपा एमालेका तर्फबाट २१ जनाले राजीनामा दिएको खण्डमा विपक्षी गठबन्धनलाई अविश्वासको प्रस्ताव पारित गरी ओलीको विकल्पमा सरकार बन्न सक्ने आँकलन गर्दै त्यस्तो तयारी गरिएको हो।

२७ वैशाखमा प्रधानमन्त्री ओलीले विश्वासको मत माग्नेगरी प्रतिनिधि सभाको अधिवेशन डाकिएको छ। जसपाभित्रको विवादका कारण विश्वासको मत नपाए पनि विकल्पमा सरकार बन्न कठिन हुने भएपछि नेपाल समूहले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाको एउटा पक्षलाई सघाउन उक्त निर्णय लिन लागेको बताइएको छ।

‘प्रतिनिधि सभा विघटन औचित्यपूर्ण थियो भन्ने रणनीतिका आधारमा ओली चलेका छन्। हामीले त्यो गलत थियो भनेका छौं। गलत सावित गर्नका लागि विपक्षी गठबन्धनलाई सहयोग गर्न राजीनामा दिन पनि तयार छौं’, एक नेताले भने।

राजीनामा दिने तयारीमा योगेश भट्टराई, झलनाथ खनाल, पवित्रा निरौला खरेल, भवानी खापुङ, जयकुमार राई, यज्ञराज सुनुवार,  गणेश पहाडी, विरोध खतिवडा, कृष्णलाल महर्जन, माधवकुमार नेपाल, जीवनराम श्रेष्ठलगायत रहेका छन्।

यस्तै, नारायण खतिवडा, घनश्याम भुसाल, गोकर्ण विष्ट, सोमप्रसाद पाण्डे, मेटमणी चौधरी, हिराचन्द्र केसी, झपट रावल, भीमवहादुर रावल, दिपकप्रकाश भट्ट र राजबहादुर बुढाले राजीनामा दिने तयारी गरेका हुन्।

‘फ्लोर क्रस गर्दा पार्टी सदस्य समेत नहरहनेगरी कारबाही हुन सक्ने भएपछि राजीनामाको तयारी गरिएको हो’, एक नेताले भने,‘हामीले आफ्ना भनाईको पनि औचित्य पुष्टि गर्नुछ।’

अविश्वासको प्रस्ताव दर्ता हुने अवस्था आए नेपाल पक्षका केही समानुपातिक सांसदले फ्लोर क्रस गर्न सक्ने पनि अनुमान गरिएको छ। उनीहरुले भने राजीनामा नदिने बरु फ्लोर क्रस गरेवापत कारबाही भोग्न तयार रहने समझदारी बनेको छ।

प्रतिक्रिया