

विश्वासको मत लिने प्रधानमन्त्री ओलीको निर्णयमा माओवादी किन त्रसित छ?
पदाधिकारी बैठकपछि कांग्रेसको धारणा, जसपाभित्र अन्तरविरोध

काठमाडौं– प्रतिनिधि सभा विघटन हुन नदिनका लागि औपचारिक रुपमा सरकारलाई दिएको समर्थन फिर्ता नलिएको नेकपा माओवादी केन्द्र प्रधानमन्त्री केपी शर्मा ओलीको नयाँ निर्णयमा फेरि सशंकित बनेको छ।
व्यवाहारिक रुपमा विश्वास नरहे पनि समर्थन जारी रहेको माओवादीले प्रतिनिधि सभाको गएको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिनुपर्ने दाबी गरेको थियो। माओवादीका प्रमुख सचेतक देव गुरुङले नै सरकारले अहिले विश्वासको मत लिनुपर्ने दाबी गरेका थिए।
तर २७ वैशाखमा सदन बस्नेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको अधिवेशनमा ओलीले विश्वासको मत लिने कार्यसूची राखिनेछ। तर माओवादी ओलीको उक्त चाहनाप्रति सशंकित छ। उनै देव गुरुङले प्रधानमन्त्री ओलीको यो चाहनालाई वैकल्पिक सरकार नबन्ने अवस्था देखाइ पुनः संसद् भङ्ग गर्ने मनसाय राखेको दाबी गरे।
उनले भने, ‘पुनर्स्थापनापछि पनि त्यसलाई उहाँले आत्मसाक्षीकरण गर्नुभएको छैन। सदनलाई अजेन्डाविहीन बनाउनुका साथै पटकपटक नेताहरूको बीचमा भनिरहेको विषय के हो भन्दाखेरि संसद् विघटन गरौँ भन्ने कुरामै उहाँको जोडबल केन्द्रित छ।’
उनले कुनै विकल्पमा सरकार बन्न नसकेको देखाएर ओलीले संसद् विघटनको मनसाय राखेको दाबी गरे। जसरी पनि प्रतिनिधि सभा विघटन गरी नयाँ चुनावमा जाँदा माओवादी जनस्तरमा कमजोर हुने भएपछि उसैको माग बमोजिम प्रधानमन्त्री ओलीको चाहनालाई सकारात्मक रुपमा लिन चाहेको छैन।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने यस विषयमा धारणा बनाउनका निम्ति मंगलबार पदाधिकारी बैठक राखेको छ। सोमबार राख्ने भनिएको उक्त बैठक नेता रामचन्द्र पौडेलको स्वास्थ्यका कारण सारिएको थियो।
प्रधानमन्त्री ओलीलाई अविश्वासको प्रस्ताव दर्ता गर्ने कि तटस्थ बस्ने भन्ने विषयमा पदाधिकारी बैठकले धारणा बनाउने तयारी भएको छ। तर कतिपय नेताले महामारीबाट ध्यान मोड्नका लागि विश्वासको मत लिने प्रधानमन्त्रीको नयाँ रणनीति रहेको बताएका छन्।
जनता समाजवादी पार्टी (जसपा)मा भने अन्तरविरोध कायम रहेको छ। अध्यक्ष मध्येका एक जना उपेन्द्र यादवले विपक्षमा उभिने बताए पनि अर्का अध्यक्ष महन्थ ठाकुरको समूह भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने या तटस्थ बस्ने तयारीमा रहेको छ।

