महन्थ ठाकुरले सुरु गरे हस्ताक्षर अभियान, बहुमत पुगे ओलीलाई विश्वासको मत नत्र अर्को ‘स्टेप’


काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संघीय संसदका सदस्य र कार्यकारीणि सदस्यको हस्ताक्षर संकलन थालेका छन्।

आगामी सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने भएपछि निर्णायक रहेको जसपामा ठाकुरले उक्त अभियान चलाएका हुन्।

जसपाले साथ दिएको खण्डमा ओलीको सरकार टिक्नेछ भने अविश्वासको प्रस्ताव फेल भएको खण्डमा अर्को एक बर्ष पनि ओलीले नै सरकार चलाउनेछन्।

‘सकभर बहुमतले ओलीलाई साथ दिएर सरकार टिकाउन मद्दा गर्ने तयारी हो, हैन भने अविश्वासको प्रस्तावमा असहमति जनाउने, फ्लोर क्रस गर्ने या तटस्थ बस्ने तयारीका लागि बहुमत जसपा सांसदको हस्ताक्षर संकलन भइरहेको छ’, स्रोतले भन्यो।

जसपामा उपेन्द्र यादव, डा. बाबुराम भट्टराई पक्ष र ठाकुर पक्षबीच मतभेद छ। लुम्बिनी प्रदेश सरकारलाई समर्थन गर्ने चार सांसदलाई पदमुक्त गर्ने पत्र तथा ओली सरकारलाई अविश्वासको प्रस्तावमा सहयोग गर्ने हस्ताक्षर संकलनपछि ठाकुर पक्ष रुष्ट थियो।

‘अविश्वासको प्रस्तावमा त समर्थन हुनेछैन। तर धेरै चिज अगाडि बढेको खण्डमा पार्टी विभाजनसम्मको तयारीका लागि कार्यकारिणी सदस्य समेतको हस्ताक्षर संकलनका लागि निर्देशन भएको छ’, उच्च स्रोतले भन्यो,‘अर्को स्टेप त्यहि हुनेछ। अहिले सरकारले मधेसका माग पूरा गर्न लाग्दा उसैको विरोधमा किन उत्रिने? कसले पूरा गरिदिन्छ माग? पहिला पूरा भएका थिए र?’

जसपा विभाजन भएको खण्डमा अविश्वासको प्रस्ताव पारित हुने अवस्था रहँदैन भने नयाँ सरकार बनाउन पनि कठिन हुनेछ। यसबीचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि सरकार बनाउने भन्दा तटस्थ बस्ने मुडमा छन्।

सोमबारका लागि कांग्रेसले पदाधिकारी बैठक बोलाएको थियो। ओलीलाई पहिला पनि विश्वासको मत नदिएर तटस्थ बसेका कारण फेरि विश्वासको मत माग्दा तटस्थ बस्ने तथा अविश्वासको प्रस्ताव पारित नहुने अवस्थामा पनि तटस्थ बस्ने कांग्रेसको तयारी छ।

प्रतिक्रिया