

राजनीतिक अंकगणितमा दिपक मनाङेको महत्व कसरी भयो?
गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदै

काठमाडौं– राजनीतिक अंक गणितमा कुनै बेला गुन्डा नाइके भनेर बिख्यात रहेका राजीव गुरुङ उर्फ दिपक मनाङेको पनि महत्व बढेको छ।
गण्डकी प्रदेश सरकार गिराउने या जोगाउने भन्ने विषयमा मनाङेको महत्व देखिएको हो। उनी मनाङबाट जित्ने स्वतन्त्र प्रदेश सभा सदस्य हुन्।
बुधबार मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभामा निर्णायार्थ प्रस्तुत हुने अविश्वासको प्रस्तावको मत विभाजनका कारण मनाङेको महत्व अनिवार्य देखिन्छ। यद्यपि, मनाङेबाहेकको समीकरण बनेको खण्डमा कांग्रेसका कृष्णचन्द्र नेपाली मुख्यमन्त्री बन्ने बाटो खुल्ने छ। तर त्यो झिनो बहुमत हुनेछ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा सबैभन्दा ठूलो दल नेकपा एमालेको २७ सिट छ । नेपाली कांग्रेसको १५ र माओवादी केन्द्रको १२ सिट छ । त्यस्तै राष्ट्रिय जनमोर्चाको ३, जसपाको २ र एकजना स्वतन्त्र सांसद दिपक मनाङे छन् ।
अविश्वास प्रस्ताव पारित हुनका लागि जनमोर्चाले साथ दिएपछि कांग्रेस माओवादीलाई संख्या पुग्छ तर अझ सुविधाका लागि मनाङेको महत्व देखिएको हो। ३१ भोट भए अविश्वास प्रस्ताव पारित हुन्छ । कांग्रेस, माओवादी, जसपा र राजमोसँग ३२ मत छ। मनाङेसहित ३३ मत हुनेछ।
अविश्वासको प्रस्तावमा मत विभाजन गर्ने क्रममा कुनै सांसद अनुपस्थित भए कांग्रेस माओवादी गठबन्धनका लागि मनाङे आवश्यक पर्न सक्छन्।
‘मत विभाजनका बेला जसपाका दुई सांसदमात्र अनुपस्थित भएको खण्डमा पनि मनाङे निर्णायक हुनेछन्’, एक नेता भन्छन्,‘जसपाले अहिले नै कित्ता क्लियर गरिसकेको छैन, लुम्बिनी प्रदेश जस्तो हुने त्रास पनि छ।’
त्यो अहम् मौकामा मन्त्री दिने शर्तसहित मनाङेलाई अविश्वासको प्रस्तावका पक्षमा उभिनका लागि कांग्रेस माओवादीले प्रस्ताव गर्न सक्छन्। ‘एउटा सांसदको महत्व कति हुन्छ भन्ने आजको अविश्वासको प्रस्तावको मत विभाजनका क्रममा स्पष्ट हुनेछ।’

