लिदीका पहिरो विस्थापितलाई अब छिटै स्थायी बसोबास गराइने


चौतारा – सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको लिदी पहिराबाट विस्थापित परिवारका लागि वर्षात अगावै जस्तापाताको व्यवस्था गरी सुरक्षित बसोबासको व्यवस्था गरिने बताएका छन् ।

सभामुख सापकोटाले आज सेलाङको बाँसखर्कमा पुग्नु भई कष्टकर जीवन बिताइरहेका परिवारका लागि चाँडै नै स्थायी बसोबासको व्यवस्था गर्न सक्रियताका साथ लागिपरेको बताएका हुन् ।

जुगल गाउँपालिका-२ लिदीमा गत साउन ३० गते बिहान गएको पहिरामा ३७ जनाको दुःखद निधन भएको थियो भने दुईजना बेपत्ता भएका थिए । हाल बाँसखर्कमा १७३ घरका विस्थापित परिवार बसोबास गर्दै आइरहेका छन् ।

त्यहाँ त्रिपाल र टेन्टलाई बेलाबेलामा आएको हावाहुरीले उडाएर बिचल्ली बनाएपछि उनीहरुले स्थायी बासस्थानको आग्रह गरेका छन् । सभामुखका साथ वाग्मती प्रदेशको पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल र माओवादी केन्द्रका केन्द्रीय सदस्य माधव सापकोटाको पनि सहभागिता थियो ।

यसैबीच, सभामुख सापकोटाले आजै चौतारा सागाचोकगढी नगरपालिका-६ स्थित पानीट्याङ्की नजीक बुद्ध उद्यानको समेत शिलान्यास गरेका छन् ।

ठेकेदार कम्पनी उमा/काली/प्रसिन जेभीले १३ महिनाभित्र सम्पन्न गर्ने गरी रु ६ करोड २१ लाख ५३ हजार ७८८ मा गत शुक्रबार नगरपालिकासँग ठेक्का सम्झौता भएको छ । कूल दुई रोपनी ११ आनामा घेराबार तथा बगैँचा सहितको उद्यानमा ६७ फिट उचाइको बुद्धमूर्ति प्रतिस्थापना गरिने नगरपालिका इन्जिनीयर बद्रि भुजेलले जानकारी दिए ।

तस्बिर सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेको फेसबुक वालबाट ।

प्रतिक्रिया