

कोशी कोभिड-१९ उपचार केन्द्रमा कार्यरत चिकित्सक र नर्स आन्दोलित, भर्ना भएका बिरामी अलपत्र

विराटनगर – सरकारद्वारा निर्धारित न्यूनतम सुविधा पाउनुपर्ने भन्दै कोशी कोभिड-१९ उपचार केन्द्रका चिकित्सक र नर्स आन्दोलनमा उत्रिएका छन् । स्वास्थ्यकर्मी आन्दोलित भएपछि सो केन्द्रमा भर्ना भएका बिरामी अलपत्र परेका छन् ।
आन्दोलित चिकित्सक र नर्सलाई काममा फर्काउन पहल भइरहेको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डाक्टर चुमनलाल दासले बताए । अस्पतालका कार्यरत चिकित्सक र नर्स आन्दोलनमा गएपछि उपचारमा समस्या आउने बताउँदै मेसु दासले उनीहरुको जायज मागलाई जतिसक्दो चाँडो सम्बोधन गरी काममा फर्काउने बताए ।
उनका अनुसार उपचार केन्द्रमा कार्यरत ५ जना नर्स, ३ जना पारामेडिक्स र पाँचजना डाक्टर काम छाडेर आन्दोलित भएका हुन् । १८० बेडको उपचार केन्द्रमा सोमबारसम्म ३२ जना कोरोना संक्रमित उपचाररत छन् । सामाजिक विकास मन्त्रालयले गत भदौमा नियुक्ति पाएका डाक्टर, नर्स र पारामेडिक्सलाई कात्तिकसम्मको मात्रै तलब भत्ता र सुविधा दिएको छ ।
कोरोना संक्रमण घटेपछि एक महिना बिदा बसेका उनीहरु पुनः नियुक्ति पाएपछि काममा फर्किएका थिए । तर न्यूनतम सुविधा नपाएपछि आन्दोलनमा उत्रिएको उनीहरुको भनाइ छ ।

