भारतमा कोरोना महामारी, प्रवासी नेपालीको अवस्था पीडादायक


काठमाडौं – भारतमा दोस्रो लहरको कोरोना भाइसको सङ्क्रमणले विश्वमा नयाँ रेकर्ड बनाइरहेको छ । उक्त रेकर्ड दिनहुँ उकालो लागिरहेको छ । आइतबार मध्यरातसम्म तीन लाख ५४ हजार संक्रमित भएको तथ्यांक अपडेट भइसकेको छ ।

हरेक दिन दुई हजार पाँच सयको आसपासमा मृत्यु रेकर्ड भइरहेको छ । अहिले दिल्ली, महाराष्ट्र, गुजरातसहित भारतभरि कोभिड संक्रमण आक्रामक छ । यिनै क्षेत्रमा नेपालीको घनत्व धेरै छ । त्यसैले आम भारतीय जस्तै विभिन्न पेसा, व्यवसाय र मजदुरी गर्ने नेपालीमा पनि कोभिडको संक्रमण तीव्र भएको छ ।

तर, मूल निवासीले नै अस्पतालमा बेड र अक्सिजन नपाएकाले नेपालीको पीडा हिसाबमै आएको छैन । अस्पतालमा पहुँच नभएको भन्दै नेपालीले प्रवासी नेपाली सम्बन्धी विभिन्न सङ्गठनसँग हारगुहार गर्न थालेका छन् ।

दिल्लीस्थित अन्तर्राष्ट्रिय बिपी चिन्तन प्रतिष्ठानका अनुसार दिल्लीमा यही साता ३५ वर्षभन्दा मुनिका तीन नेपालीको मृत्यु भएको छ । त्यस्तै, मुम्बईमा उपचार नपाएर एकजनाको मृत्यु भएको छ ।

नयाँदिल्लीस्थित नेपाली दूतावासका उपनियोगका अनुसार भारतमा कति नेपाली संक्रमित छन् भन्ने तथ्यांक संकलन हुन सकेको छैन । अखिल भारत नेपाली एकता समाजका अनुसार भारतभरि नेपाली विद्यार्थी र कामदार निकै ठूलो सङ्ख्यामा संक्रमित भएका छन् ।

प्रतिक्रिया