

बढ्यो मृत्युदर, एकैदिन २८ संक्रमितले ज्यान गुमाए

काठमाडौं – नेपालमा कोरोनाबाट पछिल्लो २४ घन्टामा ज्यान गुमाउनेको संख्या २८ पुगेको छ । पछिल्ला दिनहरुमा नयाँ भेरियन्टको कोरोना देखिन थालेपछि नेपालमा संक्रमित र कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या अत्याधिक मात्रामा बढ्न थालेको छ ।
अघिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएकोमा पछिल्लो २४ घन्टामा २८ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा उपत्यकामा १४९८ जना नयाँ संक्रमित थपिएका छन् भने देशभरमा ३ हजार १२२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २९२ पीसीआर र ७८६ को एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पीसीआर विधिबाट गरिएको परीक्षणमा ३ हजार ३२ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । जसमध्ये एन्टिजेन विधिबाट ९० जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै गत २४ घन्टामा ४५० जना कोरोना संक्रमण मुक्त भएको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

