एमालेमा नयाँ स्थायी कमिटीः नेपाल समूह शून्य, बामदेव समेटिए


काठमाडौं – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी गठन गरेका छन्। एमालेको नवौं महाधिवेशनबाट बनेको स्थायी कमिटी गएको २८ फागुनको बैठकमा खारेज गरिएको थियो।

झलनाथ खनाल र माधव नेपाल पक्षका एक जना पनि नेतालाई समावेश नगरी ओलीले स्थायी कमिटी गठन गरेका हुन्। स्थायी कमिटीमा वामदेव गौतमलाई भने समावेश गरिएको छ।

शुक्रबार बालुवाटारमा बसेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा अध्यक्ष ओलीले साविक नेकपा विभाजनपछिकै स्थायी कमिटीलाई एमालेको स्थायी कमिटीमा रुपान्तरण गरेका हुन्।

अध्यक्ष ओलीले १९ जनाको स्थायी कमिटी बनाउँदै बाँकी सदस्य पछि थप्ने बताएको बैठकमा सहभागि एक नेताले बताए । आजको बैठकले एमाले स्थायी कमिटीको अध्यक्षमा पार्टी अध्यक्ष ओली र उपाध्यक्षमा महासचिव इश्वर पोखरेल रहने निर्णय गरेको छ।

स्थायी कमिटी सदस्यहरूमा ओली र पोखरेलसहित बामदेब गौतम, रामबहादुर थापा ‘बादल’, बिष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदिप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी, सत्यनारायण मण्डल, विष्णु रिमाल, छबिलाल विश्वकर्मा, पृथ्वी सुब्बा गुरूङ, रघुवीर महाशेठ, केशश बडाल र पुष्प राज कँडेल रहेका छन्।

प्रतिक्रिया