

गाँस काटेर लगानी गरेको शेयरबजारमा ‘लकडाउन’! नेप्से ३५०० कि १५०० ?

विश्वमा एक्कासि फैलिएको कोरोनाका कारण गतबर्ष चैत्रदेखि लकडाउन भएसँगै पानीमा रुझेको बिरालो जस्तै काँप्दै लत्रिएको शेयर बजार लकडाउन पछि भने बाघ बनेर गर्जिरहेको अवस्थामा छ ।
लकडाउन अघि कोरोना त्राससँगै लगानीकर्ताहरुमा परेको नकारात्मक मानसिक प्रभावले बल्लतल्ल कछुवाको गतिमा चढ्दै १६६८ सम्म पुगेको नेप्से एक्कासी खरायोको गतिमा ओरालो लाग्दै १९ दिनको एकदमै छोटो अबधिमै १२५१ पुगेको थियो । विज्ञहरुका अनुसार यति छोटो अवधिमा नै नेप्सेमा भएको यो भारी गिरावट सम्भवतः इतिहासमै पहिलो पटक हो । लकडाउन अघि नेप्सेमा भएको यो गिरावटले त्यसबखत ५ खर्ब १८ अर्व पूँजीकरण गुमेको थियो ।
लकडाउनको अवधिमा पनि केहि समय खुल्ला गरिएतापनि त्यसबखत भने शेयरबजार डुबानबाट तैरन सकिरहेको थिएन । शेयरबजारलाई लामो समयसम्म बन्द गर्दा लगानीकर्ताहरु भड्कने र अर्थतन्त्र नै धरासायी हुने भन्दै नियामक निकायले चैत्र ११ बाट लकडाउन भएसँगै बन्द गरिएको बजारलाई करिब ४५ दिनपछि बैशाख ३० बाट खुल्ला गरेको थियो ।
त्यसबेला लकडाउनले बिगारेको अर्थतन्त्रमा बन्द भएको शेयर बजारको उचित तालमेल मिलिनसकेको हुनाले शेयर बजारले कस्तो मोड लिन्छ भन्ने पूर्वानुमान गर्न असम्भव थियो । त्यसैले बजारलाई पुरा समय नखोली ११ देखि १ बजेसम्म २ घण्टामात्र खोल्ने निधो गरियो । जहाँ एकातिर कोरोना त्रास र अर्कोतिर आंशिक समयमात्र बजार खुलाइएकाले १० प्रतिशतमा हुने सर्किट ब्रेकलाई २ प्रतिशतमा झारेर कारोबार सुरु गरियो । हल्लैहल्लामा रूमल्लिएको बजारमा कोरोनाको त्रासले लकडाउन अघि झैँ बजार फेरी घट्ला कि भनेर सर्किट ब्रेकरलाई २ प्रतिशतमा झारीएको थियो । जहाँ घटबढ दुवैमा २ प्रतिशतको अन्तरालमै कारोबार ब्रेक हुन्थ्यो ।
नेपालको सानो शेयर बजारमा बुझेर भन्दा पनि बजार हल्ला र अरुको लहैलहैमा लागेर प्रवेश गर्नेहरु धेरै छन् । शेयर बजार के हो ? र कसरी चल्छ ? भन्दा पनि कसरी पैसा एकैपटक कमाइन्छ भन्ने भ्रामक बिचारले लगानीकर्ताहरुको मानसिकता बिगारेको छ ।
लकडाउन केहि खुकुलो भएसँगै असारको मध्यतिरबाट दैनिक चारघण्टा खुलेको शेयर बजार साउनको दोश्रो हप्ताबाट एकैदिन तीन सर्किट हान्दै निश्चित समय अगावै कारोबार बन्द भएको थियो । त्यसपछि भने कोरोनाको त्रासमा बिस्तारै भएको न्यूनिकरण सँगै २०७८ वैशाखसम्म आइपुग्दा नेप्से बढेर हालसम्मकै उच्च बिन्दु २७३५ सम्म आइपुगेको थियो ।
नयाँबर्षको सुरुवातसँगै चुलिएको नेप्से कोरोनाको दोश्रो लहरसँगै पुन घटबढकै अवस्थामा आइपुगेको छ । पहिले झैँ कोरोनाको त्रासले ढुलमुल गर्न थालेको नेप्से फेरी थलिँदै गएको हो या हैन भन्ने प्रश्न समग्र शेयर बजारमा उठिरहेको छ ।
कोरोनाको पहिलो लहरले आत्तिएका लगानीकर्ताहरु, केहि शेयर बिज्ञहरुका नेप्से ३५०० को बिन्दुमा पुग्छ भन्ने पूर्वानुमानले निश्चित हदसम्म आश्वस्त भएर लगानीमा हात बढाइरहेका बेला फेरी कोरोना कै दोश्रो लहर भित्रिइरहँदा लगानी गर्न हात कपाँइरहेका कुरा हाल एक्कासी भइरहेको नेप्से परिसुचकको घटबढले स्पष्ट पार्दछ ।
के साँच्चै शेयरलाई कोरोना लाग्ला ?
कोरोनाको लहर भित्रिएसँगै त्यसबाट बच्न अपनाइने हरेक क्रियाकलापले देशको अर्थतन्त्रमा अवश्य असर पार्दछ । विश्वलाई सर्सर्ति नियालेर हेर्ने हो भने नेपालको शेयर बजार एकदमै सानो रहेको छ । यहाँ केही निश्चित ब्यक्तिहरु बाहेक धेरै लगानीकर्ताहरुले आफ्नो बिहान बेलुकीको छाकलाई काटेर लगानी गरिरहेका छन् ।
यदि कोरोना बढेसँगै यसको नियन्त्रणको बिकल्पमा सरकारले लकडाउन गरेमा धेरै लगानीकर्ताहरुले आफ्नो छाक जोगाउन तिर लाग्दछन् । जसले गर्दा बजारमा लगानी घट्न जान्छ । शेयर बजारमा लगानी घट्नु भनेको शेयरको माग घट्नु हो । अर्थशास्त्रको नियमानुसार बजारमा कुनैपनि बस्तुको माग र पूर्तिको परिमाणले नै यसको मूल्य निर्धारण गर्दछ । शेयरको माग घट्दै जान्छ र भएका शेयरधनीहरु पनि शेयरलाई बेच्न चाहन्छन् । जसले गर्दा बजारमा शेयरको पूर्ति अत्याधिक हुन जान्छ र शेयर मूल्य सँगै समग्र नेप्सेनै घट्न थाल्छ । तर,
बजार घट्नुको बिकल्प छ कि छैन त ?
कोरोना बढ्दै गएर लकडाउन नै भए केही समय शेयर बजार पनि बन्द हुन्छ । किनभने शेयर बजार अर्थतन्त्रको एउटा मुख्य पाटो भएकाले अर्थतन्त्रका अन्य आयामहरु ठप्प हुँदा शेयर बजारलाई मात्र चलाउन सकिँदैन ।
नेपालको सानो शेयर बजारमा बुझेर भन्दा पनि बजार हल्ला र अरुको लहैलहैमा लागेर प्रवेश गर्नेहरु धेरै छन् । शेयर बजार के हो ? र कसरी चल्छ ? भन्दा पनि कसरी पैसा एकैपटक कमाइन्छ भन्ने भ्रामक बिचारले लगानीकर्ताहरुको मानसिकता बिगारेको छ । यदि बजारलाई बुझेर बजारलाई म चलाउँछु भन्दा पनि, बजारसँगै म चल्छु भन्ने नीति लिनु र अरुको लहैलहैमा नलागी थप लगानी गर्न असक्षम भएपनि भएको लगानीलाई यो कोरोनाको कहरमा बचाएर राख्नु नै शेयर बजार घट्नुको अर्को विकल्प हुनेछ । यसो गर्दा लकडाउन नै भएर शेयर बजार बन्द भएछ भनेपनि बन्द हुनुअघि यो स्थितिमा बजार बढेर माथि त नपुग्ला तर अवश्य बिगतमा झैँ धेरै तल पनि खस्कने छैन । धैर्य गरौँ धैर्यता नै सफलताको अचुक दबाई हो ।

