‘फ्लोर क्रस’ गर्ने एमालेका प्रकाश ज्वालासहित ४ जनालाई आजै कारबाही!


काठमाडौं– कर्णाली प्रदेश सभामा फ्लोर क्रस गरी मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने सांसद प्रकाश ज्वालासहित चार जनालाई एमाले महाधिवेशन आयोजक कमिटीले सांसद र पार्टी सदस्यबाट आजै हटाउने भएको छ।

स्पष्टिकरण सोधिएका चारै जनालाई एमाले सदस्य र प्रदेश सभा सदस्य समेत नरहनेगरी हटाउने निर्णय बैठकले लिन सक्ने बताइएको छ। पार्टीको ह्विप उल्लंघन गरेको अभियोगमा उनीहरुलाई स्पष्टिकरण सोधिएको थियो।

प्रकाश ज्वालासहित कुर्मराज शाही, नन्दसिंह बुढा र अमरबहादुर थापालाई हटाउन लागिएको हो। चारै जनालाई शाहीले प्रदेश मन्त्रीमा नियुक्त गरेका थिए। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार बालुवाटारमा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दैछ।

एमालेले बरिष्ठ नेता माधव कुमार नेपालसहितका संघीय सांसदबारे भने उनीहरुको स्पष्टीकरण अध्ययन गरेर कारबाही गर्ने नगर्ने भन्ने विषय संसदीय दलका नेता ओलीलाई जिम्मा लगाउनेछ। नेपालसहिछ संघीय संसदका २७ जनालाई स्पष्टिकरण सोधिएको थियो। सबैले विहीबारै जवाफ बुझाई सकेका छन्।

प्रतिक्रिया