झापामा एकैदिन ५ जनाले ज्यान गुमाएपछि थपियो चिन्ता


काठमाडौं । झापाबासीका लागि २०७८ साल वैशाख ९ गते बिहीबार निक्कै दुखद्र दिन सावित भयो । विभिन्न घटना, दुर्घटना र रोगका कारण एकैदिन पाँच जनाले ज्यान गुमाए ।

त्यसरी ज्यान गुमाउनेमा तीन बालक, एक बृद्धा र एक किशोर छन् । हिजो साँझ बुद्धशान्ति ३ बुधबारेमा एउटा पोखरीमा डुबेर दुई बालकको मृत्यु भयो ।

बिनोद मोक्तानको माछा पोखरीमा स्थानीय धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन चौहान र सोही ठाउँका हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेश पौडेलको मृत्यु भएको हो ।

स्कुलबाट घर फर्किने क्रममा उनीहरू सो पोखरामा पौडी खेल्न पसेका थिए । उनीहरू डुबेर बेपत्ता भएपछि पोखरीको पानी खोलेर खोजतलास गरिएको थियो । साँझ ७ बजेतिर पोखरीमा मृत फेला परेका थिए ।

त्यसैगरी बिहान रुखको हाँगाले लागेर कमल गाउँपालिका ५ सीतापुरीका ८ वर्षीय बालक योगेन राईको मृत्यु भयो । बुबासँग दाउरा टिप्न रतुवामाइ वृक्षारोपण आयोजना पुगेका उनलाई रुखको हाँगोले किचेको थियो। हावाहुरीले भाँचिएको हाँगोले किच्दा उनको मृत्यु भएको हो।

बिहान नै भद्रपुर नगरपालिका ९ की ६७ वर्षीया गायत्रीदेवी प्याकुरेलले सडक दुर्घटनामा परी ज्यान गुमाइन्। उनलाई केचना – चारआली सडकखण्डमा मे१ क २६७ नम्बरको ट्रकले ठक्कर दिएको थियो ।

पूजाको फूलपाती सेलाएर मे १ ख ६४५८ नम्बरको अटोमा घर फर्कदै गर्दा ट्रकले ठक्कर दिएको थियो । ठक्करबाट भुँइमा लडेकी उनलाई ट्रकको टायरले किच्दा घटनास्थलमा नै मृत्यु भएको हो ।

हिजो दिउँसो नै कोरोना संक्रमणका कारण भद्रपुर नगरपालिका ६ का एक युवाको ज्यान गयो। ३८ वर्षीय राई थरका ती युवाको उपचारका क्रममा विएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । दुई दिन अघिदेखि राई उपचाररत थिए ।

एकैदिन यति ठूलो मानवीय क्षति भएपछि झापाबासी शोकमा परेका छन् । व्यक्ति हत्याले असुरक्षाको महसुस गरिरहेका झापालीमा बिहीबारका यी घटनाले थप चिन्ता बढाएको छ ।

प्रतिक्रिया