दुगडको नाममा बुक भएको ‘स्वीट रुम’मा ओली–नेपालको दुई घण्टा!


काठमाडौं – नेकपा एमालेभित्र ओली र खनाल–नेपाल पक्षबीचको शक्ति संघर्ष चरमोत्कसर्षमा गुज्रिरहेका बेला बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच नक्सालस्थित होटल मेरियिटमा भेटवार्ता भयो। झण्डै दुई घण्टा लामो छलफलपछि ओली र नेपाल होटलबाट बाहिर निस्के।

भेटवार्ता सकेर बाहिरिने क्रममा दुवै नेताले केही प्रतिक्रिया दिन चाहेनन्। होटल मेरियटमा दुई नेताबीच छलफल भएपनि विस्तृत विवरण भने आइसकेको छैन। दुई नेताबीच भएको संवादको नालीबेली विस्तारै खुल्दै जाला। पार्टीभित्रको विवादका विषयमा दुई नेताबीच छलफल भएको कुरा सहजै अनुमान गर्न सकिन्छ।

होटलबाट बाहिरिँदै गर्दा नेता नेपालले सञ्चारकर्मीसँग यतिमात्र भने ‘म केही बोल्दिन।’ खासमा नेपाललाई सञ्चारकर्मीले भेटका विषयमा केही जानकारी दिन भनेका थिए। तर, नेपालले अहिले केही नबोल्ने बताएका हुन्। आजको भेटले पार्टीभित्रको विवाद समाधान हुनसक्ने संकेत देखाएको छ।

२ चैतपछि ओली र नेपालबीच पहिलो पटक छलफल भएको हो। यो बीचमा ओलीले नेपालसहित ४ जना नेतालाई ६ महिनाको लागि निलम्बन गरिसकेका छन्। त्यतिमात्र होइन ओलीले खनाल–नेपाल पक्षका २७ सांसदलाई मंगलबार स्पष्टीकरण सोधेपछि पार्टीभित्रको विवाद पेचिलो मोडमा पुगेको थियो।

त्यस्तै नेपाल पक्षले ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव ल्याए ‘फ्लोर’ क्रस गर्ने वचन शेरवहादुर देउवा र प्रचण्डलाई दिएको खबरपछि ओली थप कारवाहीतर्फ अघि बढ्दै थिए। तर, बुधबारको आकस्मिक तय भएको भेटपछि उनीहरुबीचको सम्बन्ध राम्रो रहनसक्ने अनुमान छ।

आजको भेटले सँगै लामो समयदेखि गुज्रिएको संवादहीनताको अवस्था पनि तोडिएको छ। बुधबार मात्रै एमालेका सचिव योगेश भट्टराईले बालुवाटरमा पार्टी अध्यक्ष ओलीसँग भेटेर पार्टी एकता जोगाउन आग्रह गरेका थिए। त्यसको केहीबेरपछि दुई नेताबीचको भेटलाई नेता तथा कार्यकर्ताले सकारात्मक रूपमा लिएका छन्। नेपाल समूहले भट्टराईलाई दूतका रूपमा पठाएको बुझिएको छ।

पार्टीभित्र देखिएको बढ्दो विवादलाई ‘आइसब्रेक’ गर्दै ओली र नेपाल छलफलमा जुटेको एमालेका एक केन्द्रीय सदस्यले बताए। २ घण्टा लामो वार्तापछि प्रसन्न मुद्रामा दुवैजना बाहिरिएका थिए। वार्तास्थलमा रहेका प्रधानमन्त्रीका आर्थिक सल्लाहकार तथा एमाले सांसद मोतिलाल दुगडले वाताए सकारात्मक भएको बताए।

दुई नेताको भेट चलिरहेका बेला दुगड होटल मेरियट पुगेका थिए।

गुटगत रुपमा कुनै पनि माग लिएर बालुवाटार नआउनुः ओली

मेरियटको करीव दुई घण्टा लामो वार्तामा ओलीले नेपाललाई अब गुटगत रुपमा कुनै पनि माग र शर्त लिएर नआउन आग्रह गरेको बालुवाटार स्रोतको भनाइ छ। ओलीले विनाशर्त पार्टीमा आए कारवाही र पद फिर्ता हुनसक्ने संकेत दिएका थिए।

स्रोतका अनुसार ओलीले नेपाललाई १० वैशाखमा बस्ने केन्द्रीय समितिको बैठकमा सहभागि भएर आफ्ना कुरा राख्न आग्रह पनि गरेका छन्। यता नेपालले पहिले आफ्ना साथीसँग छलफल गरेपछि मात्रै थप कुरा भन्ने ओलीलाई बताएको स्रोतको दावी छ।

मेरियट नै किन रोजे?

योगेश भट्टराईसँगको भेटपछि ओलीले तत्कालै नेपालसँग टेलिफोनमा वार्ता गरेका थिए। दुई नेताबीचको फोन संवादको क्रममा भेटवार्ताको लागि मेरियट तय भएको हो। भेटका लागि चाँजोपाजो प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकार दुगडले मिलाएका हुन्।

साँझ ६ बजेदेखि ओली र नेपालबीच वार्ता भएको मेरियटको स्वीट रुम बुधबार दिउँसो नै मोतिलाल दुगडको नाममा बुक भइसकेको होटल स्रोतले जनाएको छ। कोठा नम्बर ९०१ दुगडको नाममा बुक गरिएको थियो।

जतिबेला होटल मेरियटमै अर्थमन्त्री बिष्णु पौडेल दिउँसैदेखि बजेट सम्बन्धी आन्तरिक छलफलमा थिए। दुई नेताबीच वार्ता शुरु भएपछि पौडेल होटलबाट निस्किएका थिए। ‘वान टु वान’ कुरा गरुन् भनेर पौडेल निस्किएको बताइएको छ।

केही समयअघि तत्कालीन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण भएको भन्दै खबर बाहिर आएपछि होटल मेरियट चर्चामा आएको थियो। जतिबेला देशमा लकडाउनमा थियो। तर, पनि खुलेकै थियो। आज त्यही होटलमा ओली र नेपालबीच छलफल भएपछि चर्चामा छ।

प्रतिक्रिया