

अकास्मात् माओवादीले किन रोक्यो स्थायी समिति बैठक?

काठमाडौं– सरकारलाई दिएको समर्थन फिर्ता लिने एजेन्डासहित सोमबार दिउँसो १ बजेका लागि तोकिएको नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगन गरिएको छ।
सरकारले सोमबारदेखि नै प्रतिनिधि सभाको चालु हिउँदे अधिवेशन अन्त्यको सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसलाई लालमोहर लगाइसकेकी छन्। संसद नै नचल्ने भएपछि त्यसमा रहेका एमाले बाहेकका अन्य दलसँगको परामर्शका लागि स्थायी समिति बैठक स्थगन गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्।
धेरै नै आलोचना भएपछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई अल्पमतमा पार्ने र विश्वासको मत लिन नदिने रणनीतिमा माओवादी थियो। त्यसका लागि एमालेका माधवकुमार नेपाल पक्षसँग फ्लोर क्रस गर्ने सहमति पनि भएको थियो।
नेपाल पक्षका कम्तिमा २६ जना सांसदले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिनेगरी हस्ताक्षर समेत गरेका थिए। तर संसद अधिवेशन नै अन्त्य भएपछि तत्कालका लागि उक्त रणनीति पनि टरेको छ।

