कर्मासहित काठमाडौंमा लुटपाट आतंक मच्चाउने पाँचजना समातिए


काठमाडौं- राजधानी उपत्यकामा श्रृंखलाबद्ध रूपमा सुनका सिक्री तथा अन्य बहुमूल्य गरगहना लुटपाट गर्दै आएको ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गर्दै महिला र वृद्धालाई लक्षित गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको जानकारी दिएको हो।

प्रहरीका अनुसार अनुसन्धानका क्रममा उपत्यकामा भइरहेका सिक्री लुटपाटका घटनामा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको थियो । त्यसपछि समूहका सदस्यहरूको खोजी सुरु गरिएको थियो।

खोजतलासका क्रममा काठमाडौंका कोटेश्वर, नयाँ बानेश्वर, टोखा र बनेपामा भएका लुटपाट घटनामा प्रत्यक्ष संलग्न चार जनालाई बनेपाबाट पक्राउ गरिएको थियो।

थप अनुसन्धानपछि समूहका नाइके सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-४ घर भई हाल काठमाडौंको बौद्ध बस्दै आएका ३४ वर्षीय कर्मा तामाङलाई शनिबार राति काठमाडौंको बूढानीलकण्ठ–१३, चुनिखेलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ गर्ने क्रममा कर्मा तामाङले साथमा रहेको खुकुरी प्रहार गरी प्रहरीमाथि आक्रमण गर्ने प्रयास गरेका थिए। चेतावनीस्वरूप दुई राउण्ड हवाई फायर गर्दा पनि मोटरसाइकलमा भाग्न खोजेपछि घुँडामुनि एक राउण्ड गोली प्रहार गरी नियन्त्रणमा लिइएको छ। घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

घटनास्थलबाट प्रहरीले एउटा मोटरसाइकल, एउटा खुकुरी, पाँच थान नम्बर प्लेट तथा मोटरसाइकल चोरी गर्न प्रयोग हुने टी–लक, मास्टर कीलगायतका सामग्री बरामद गरेको छ।

प्रतिक्रिया