
तीनथानामा मिनी ट्रकको ठक्करबाट २ जनाको मृत्यु
काठमाडौं – काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५ तीनथाना चोकमा आज बिहान मिनी ट्रक र स्कुटर एकआपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ ।
सतुंगलबाट कलंकीतर्फ गइरहेको बागमती प्रदेश ०२–०३८ प ९८९७ नम्बरको स्कुटर र सोही दिशामा चलिरहेको लु १ क ४२५६ नम्बरको मिनी ट्रक दुर्घटना आज बिहान करिब ३ बजे आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक चन्द्रागिरि नगरपालिका–१२ हरियाली निवासी ४० वर्षीय दीपक नेपालको उपचारका क्रममा ललितपुरस्थित बी एण्ड बी अस्पताल, ग्वार्कोमा बिहान ४ बजे मृत्यु भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
त्यस्तै स्कुटरको पछाडि सवार ५६ वर्षीया सुभद्रा कुमारी नेपालको पनि उपचारका क्रममा बिहान मृत्यु भएको हो ।
प्रहरीले दुर्घटनामा संलग्न मिनी ट्रक र चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।



कागजपत्र |
