
११ गोटी–ओखर खेलाउने समूह छुटाउन बिचौलियाको चलखेल !
प्रहरीमाथि आर्थिक प्रभाव र दबाबको आशंका
काठमाडौं – बौद्ध–थली–साँखु क्षेत्रमा लामो समयदेखि सञ्चालन हुँदै आएको भनिएको अवैध ११ गोटी–ओखर (तीन गोटी उखर) खेलसँग सम्बन्धित प्रकरणमा पक्राउ परेका व्यक्तिहरूलाई छुटाउन बिचौलियाहरू सक्रिय भएको दाबीले अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न उठाएको छ। सुरक्षा स्रोतहरूका अनुसार अनुसन्धानलाई प्रभावित पार्न आर्थिक प्रभाव, पहुँच र विभिन्न तहबाट प्रहरीमाथि दबाब सिर्जना गर्ने प्रयास भइरहेको सूचनाहरू प्राप्त भएका छन्।
सुरक्षा स्रोतका अनुसार गत शुक्रबार नेपाली सेनाले विशेष अपरेशन सञ्चालन गरी उक्त अवैध खेलमा संलग्न रहेको आरोप लागेका केही व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि नेपाल प्रहरीलाई जिम्मा लगाएको थियो। पक्राउ परेकामध्ये सुजन बोम्जन सहितका व्यक्तिमाथि अनुसन्धान भइरहेको बताइएको छ।
घटनापछि भने अनुसन्धानलाई आफ्नो पक्षमा मोड्ने उद्देश्यले केही प्रभावशाली व्यक्तिहरू, बिचौलिया र आर्थिक स्वार्थ समूह सक्रिय भएको सुरक्षा स्रोतको दाबी छ। अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूमाथि विभिन्न माध्यमबाट दबाब सिर्जना गर्ने तथा पक्राउ परेकालाई सामान्य मुद्दामा सीमित राखेर उन्मुक्ति दिलाउने प्रयास भइरहेको चर्चा सुरक्षा वृत्तमै हुन थालेको छ।
स्थानीय बासिन्दाहरूका अनुसार बौद्ध, थली, साँखु तथा आसपासका क्षेत्रमा यो अवैध खेल नयाँ होइन। विगत तीन–चार वर्षदेखि सार्वजनिक स्थानमै नियमित रूपमा सञ्चालन हुँदै आएको यो खेलबाट हजारौँ मानिस आर्थिक रूपमा पीडित बनेको उनीहरूको भनाइ छ। कतिपयले घरजग्गा बिक्री गर्नुपरेको, ठूलो ऋणमा फसेको र पारिवारिक सम्बन्धसमेत बिग्रिएको गुनासो गरेका छन्।
स्थानीयले कान्छी मुक्तान र सुजन बोम्जन उक्त सञ्जालका प्रमुख सञ्चालकमध्येका व्यक्तिका रूपमा आरोप लगाएका छन्। उनीहरूले अवैध कारोबारबाट ठूलो सम्पत्ति जोडेको आशंका स्थानीयको छ।
कानुनी जानकारहरूका अनुसार अनुसन्धानबाट अवैध जुवा सञ्चालन, संगठित रूपमा आर्थिक लाभ लिएको तथा अवैध आम्दानीबाट सम्पत्ति आर्जन गरेको प्रमाण फेला परे जुवा सम्बन्धी कसुरसँगै सम्पत्ति शुद्धीकरण निवारण ऐन अन्तर्गत समेत अनुसन्धान विस्तार गर्न सकिने कानुनी व्यवस्था रहेको छ।
घटनाले अर्को गम्भीर प्रश्न पनि उठाएको छ। वर्षौंदेखि सार्वजनिक रूपमा सञ्चालन हुँदै आएको भनिएको यस्तो अवैध गतिविधि सम्बन्धित सुरक्षा निकायको जानकारीबिना सम्भव थियो कि थिएन? स्थानीयले केही प्रहरी कर्मचारी र सादा पोसाकमा परिचालित सुरक्षाकर्मीसँग मिलेमतो भएको आरोप लगाएका छन्। तर, यसबारे नेपाल प्रहरीले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।
अहिले सबैको नजर नेपाल प्रहरीको अनुसन्धानमा केन्द्रित छ। अनुसन्धान प्रमाणका आधारमा निष्पक्ष रूपमा अघि बढ्छ वा आर्थिक प्रभाव, पहुँच र बिचौलियाको दबाबका कारण यो प्रकरण पनि कमजोर बनाइन्छ भन्ने प्रश्नले स्थानीयवासीमा गम्भीर चासो उत्पन्न गरेको छ।
यदि अनुसन्धान निष्पक्ष रूपमा अगाडि बढ्यो भने यसले अवैध जुवा सञ्जालमात्र होइन, त्यसको संरक्षणमा संलग्न जो–कोहीलाई पनि कानुनी दायरामा ल्याउने अपेक्षा गरिएको छ। तर अनुसन्धान प्रभावित भए त्यसले कानून कार्यान्वयन गर्ने निकायमाथिको जनविश्वासमा थप प्रश्न खडा गर्ने देखिन्छ।



कागजपत्र |
