
बरिष्ठ नेता डा. शेखर कोइराला भेट्न पुगे कांग्रेस महामन्त्री घिमिरे
काठमाडौं – नेपाली कांग्रेसको आन्तरिक विवाद समाधानको प्रयास गर्न महामन्त्री गुरुराज घिमिरेले नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् ।
महामन्त्री घिमिरे र नेता डा. कोइरालाबिच शुक्रबार बिहान विराटनगरस्थित कोइराला निवासमा भेट भएको हो ।
महामन्त्री घिमिरेले भेटमा नेपाली काङ्ग्रेसको आन्तरिक राजनीति र समसामयिक विषयमा छलफल भएको जानकारी दिए ।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले पनि दुई नेताबिच भेट भएको जानकारी दिए ।
कांग्रेसमा पछिल्लो समय क्रियाशील सदस्यता ‘डिजिटल्ली अद्यावधिक’ गर्ने विषयमा देखिएको विवाद उत्कर्षमा पुगेको बेलामा महामन्त्री घिमिरेले नेता डा. कोइरालासँग भेट गरेका हुन् ।
नेता कोइराला र निवर्तमान सभापति शेरबहादुर देउवा समूहले १५ औँ महाधिवेशनका लागि भन्दै नवीकरण भइसकेका क्रियाशील सदस्यहरूको पुनः अद्यावधिकलाई अनिवार्य नगर्न भन्दै अद्यावधिक गरेका छैनन् ।
संस्थापनले भने अद्यावधिक नगर्ने क्रियाशील सदस्यहरू १५ औँ महाधिवेशन अन्तर्गतका अधिवेशनहरूमा सहभागी हुन नपाउने निर्णय गरिसकेको छ । यो विवाद चरमोत्कर्षम पुगेका बेला महामन्त्री घिमिरेले नेता कोइरालासँग भेट गरेका हुन् ।



कागजपत्र |
