ठगी आरोपमा पक्राउ परेका सेफ सन्तोष साह साधारण तारेखमा रिहा


काठमाडौं- बैंकिङ कसुर तथा ठगीको आरोपमा पक्राउ परेका सेफ सन्तोष साह रिहा भएका छन्। उनी सोमबार साधारण तारेखमा रिहा गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार साहलाई अदालतमा मुद्दासम्बन्धी प्रक्रिया र पुनरावेदनको अवधि बाँकी रहेको आधारमा साधारण तारेखमा छोडिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले साहलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी तारेखमा रिहा गरिएको बताए। साहलाई गत शनिबार जनकपुरबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो।

उनीविरुद्ध सकुन्तला अधिकारी (थापा)ले होटल किन्ने भन्दै रकम नदिएर ठगी गरेको आरोपसहित उजुरी दिएकी थिइन्।

यसअघि पनि काठमाडौं जिल्ला अदालतले साहलाई बैंकिङ कसुर मुद्दामा दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो, १ लाख २५ हजार जरिवाना र १ महिनाको कैद सजाय सुनाएको थियो। तर उक्त फैसलाविरुद्ध पुनरावेदन गर्ने अवधि बाँकी रहेको भन्दै उनलाई हालका लागि साधारण तारेखमा रिहा गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया