लेखराजप्रति भीम रावलको कटाक्षः जसको सिङ छैन, उसको नाम तिखे!


काठमाडौं – नेकपा एमालेका निलम्बित उपाध्यक्ष भीम रावल लेखराज भट्टमाथि खनिएका छन्। माओवादी केन्द्रबाट नेकपा एमालेमा प्रवेश गरेका भट्टको नेकपा एमालेमा कुनै योगदान नरहेको भन्दै खनिएका हुन्।

शनिबार धनगढीमा उत्पीडित जातीय मुक्ति समाज सुदुरपश्चिमले आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै रावलले एमालेको लागि सिन्को समेत नभाँचेका व्यक्तिलाई प्रदेश इन्चार्ज बनाइएकोमा आपत्ति जनाए।

उनले भने, ‘जसले पार्टीका लागि पसिना बगायो। भोग भोकै डाँडाकाँडा र बस्ती घुम्यो संगठन विस्तार गर्यो, उसलाई पार्टीबाट निष्कासन गर्ने तर जसले एमालेको लागि सिन्को समेत नभाँचेका व्यक्तिलाई प्रदेश इन्चार्ज बनाइएको छ। यसैलाई भन्छन्, जसको सिङ छैन, उसको नाम तिखे।’

त्यस्तै रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाए। आगामी निर्वाचनभन्दा अघि पार्टी अलग हुन सक्ने उनले संकेत गरे ।

‘निर्वाचनमा जाने कामको लागि पार्टीको कुनै एउटा स्थिति आइपर्‍यो भने जुनसुकै कदम पनि चाल्नुपर्छ,’ उनले भने, ‘पार्टीको नाम र चिन्ह फरक पर्नसक्छ। तपाई कार्यकर्ताहरूलाई तयार रहनुहोस्।’

२०३५ साल देखि ०४७ सालसम्म नेकपा माले रहेको भन्दै परिस्थिति अनुसार पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन हुन सक्ने उनले बताए ।

‘केही गरी एमाले पार्टीको नाम बदल्नु परे पनि हाम्रो अर्को पार्टी कसरी हुन्छ? पछिल्लो समय यस्ता प्रश्न आइरहेका छन्,’ रावलले भने, ‘आजभन्दा ३ वर्ष अहिले कुन पार्टीमा काम गर्‍यौँ? नेकपा एमाले थियो? नेपाल कम्युनिस्ट पार्टी थियो।’

उनले थपे, ‘जब हामी नेकपा र माओवादी मिल्यौं, तपाईंहरुले हँसिया हथौडामा पनि भोट दिनु भयो। अनि माओवादी केन्द्रकाले पनि सूर्य चिन्हमा भोट हालेका त हुन्।’

प्रधानमन्त्री ओलीले पार्टीको विधान मिचेको र विदेशीको अगाडि झुकेको बताउँदै रावलले देशमा राजनीतिक अस्थिरता, अराजकता र पार्टीमा फुट ल्याउने ओली नै रहेको बताए।

प्रतिक्रिया